काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा सङ्घले ५५ हजार ५ सय ५५ रुपैयाँको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा सङ्घको २४ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो ।
कलाको विभिन्न विधामा कम्तीमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर सङ्घमा आबद्ध एक जना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने सङ्घका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए । सम्मानको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।
कार्यक्रममा अध्यक्ष बलामीले पूर्व चलचित्र पत्रकारलाई मानार्थ सदस्य समेत वितरण गर्ने बताए । ‘पहिले चलचित्र पत्रकारिता गरेका र अहिले विभिन्न कामले पत्रकारिताभन्दा बाहिर रहेका व्यक्तिलाई सम्मान र एक ढिक्का पार्न हामीले मानार्थ सदस्य प्रदान गर्न लागेका छाैँ । मानार्थ सदस्यको भोटिङ राइट भने हुनेछैन’ बलामीले थपे । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, निर्माता सङ्घका अध्यक्ष नबल खड्का, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, सङ्घका पूर्व अध्यक्ष विदुर गिरी, शान्ति प्रिय, दिनेश सिटौला, नेपाल चलचित्र सङ्घका उपाध्यक्ष गोपाल काजी कायस्थ, नेपाल, फिल्म एन्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नृत्य कलाकार सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सेन्सर बोर्डका सदस्य भूपेन्द्र खड्का, ऋषिराज आचार्य, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा सङ्घले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
चलचित्र पत्रकार सङ्घले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एक जनालाई एउटा ल्यापटप सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगदसहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यस वर्षबाट सङ्घले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।