काठमाडौं । सिंगापुर भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या वृद्धि भएको छ। चीन र सिंगापुरबीच भिसा फ्रि यात्रा गर्न दिने सहमति भएसँगै एकै महिना ३ लाख बढी पर्यटक सिंगापुर पुगेका हुन्।सिंगापुरको पर्यटन विभागका अनुसार फेब्रुअरीमा १४ लाख ४४ हजार पर्यटकले सिंगापुर भ्रमण गरेका थिए। जसमा कूल ३ लाख २७ हजार चिनियाँ पर्यटक रहेको विभागले जनाएको छ।
भिसा फ्रि नीति लागू भएसँगै सिंगापुरमा चिनियाँ पर्यटकको आवागमन बढेको र होटल बुकिङ गर्नेको संख्या ४ गुणाले बढेको बताइन्छ। फेब्रुअरी महिनामा चीनमा नयाँ वर्षको बिदा हुने गर्छ। जसकारण पनि धेरै संख्यामा पर्यटक सिंगापुर पुगेका हुन्।
चीनपछि इन्डोनेसियाबाट सबैभन्दा धेरै १ लाख ९० हजार ७६९ जना पर्यटक सिंगापुर पुगेका छन्। मलेसिया, अष्ट्रेलियासँगै बेलायबाट यहाँ धेरै पर्यटक पुग्ने गर्छन्।यो वर्ष सिंगापुरमा १ करोड ५० लाख भन्दा बढी पर्यटक आउने अनुमान विभागको छ। बिदा मनाउन सिंगापुर पुग्ने पर्यटक धेरै हुन्छन्।