आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १३ कात्तिक

बाँके, नेपालगंज उपमहानगरपालिका-५ रामनगर बस्ने रमेश कुमार नागको घरमा रहेको काँचको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा सोही आगलागीमा परी बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको छ । आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित काभ्रे रोसी गाउँपालिका-१ घर भएका ४५ वर्षीय सानु लामाको बुज डान्स बारमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब १ करोड ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-१ चौमालास्थित हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा किराना पसल २ वटा, मोबाइल पसल २ वटा, हार्डवेयर पसल १ वटा र होटल १ वटा गरी जम्मा ६ वटा पसलमा समेत आगलागी भई करिब १ करोड १३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, परोहा नगरपालिका-३ तेजापाकड बस्ने त्रिबेणी मणडलको गोठघरमा शनिबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-२ बाउण्डि बस्ने अनिता राईको रोनिस बहुउद्देश्य कृषि तथा पशुफर्ममा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।