रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।आजको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन अहिले महोत्तरी कारागार जलेश्वरमा छन् ।सर्लाही जिल्ला अदालतले २०७७ असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जनविरुद्ध जाहेरी परेको थियो ।