पाँचथरको याङ्वरकमा १०४ घरपरिवार पहिरोले विस्थापित

पहिरोले पाँचथरको याङ्वरक गाउँपालिकामा १०४ घरपरिवार विस्थापित भएका छन्। वडा नम्बर ३ मा ६२ र वडा नम्बर २ मा ४२ घरपरिवार विस्थापित भएका गाउँपालिकाका सूचना अधिकारी केन्द्र खनालले जानकारी दिए।

निरन्तरको वर्षासँगै असार २ देखि अहिलेसम्म गरी गाउँपालिकामा धेरै घरपरिवार विस्थापित भएका र उनीहरू विभिन्न स्थानमा आश्रय लिइरहेका सूचना अधिकारी खनालले बताए। उनका अनुसार गाउँपालिकाले उनीहरूलाई एक चरणमा राहत वितरणसमेत गरेको छ।

वडा नम्बर ३  ओयाम र वडा नम्बर २ फलैँचा तथा वडा नम्बर १ च्याङथापुमा रहेका अधिकांश घर पहिरोको जोखिममा छन्। ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजालगायतका स्थानमा पहिरो गएको छ। जोखिम रहेको स्थानका नागरिकलाई नजिकै रहेका सुरक्षित बस्ती र आफन्तका घरमा सारिएको छ।

पहिरोका कारण ओयामदेखि च्याङथापु जोड्ने मध्यपहाडी राजमार्गसहित सहायक सडकमा क्षति पुगेको छ। बाढीले ओयाम खोला र फलाम खोलाका पक्की पुलसमेत बगाउँदा च्याङ्थापु–ओयाम आवागमन ठप्पप्रायः छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले त्यस क्षेत्रका ४९ घरपरिवारलाई प्रारम्भिक राहत दिनुका साथै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।