११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

इस्लामाबाद : पाकिस्तान सरकारले ११ लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने निर्णय गरेको छ। तहरीक–ए–तालिबान आतङ्ककारीले पाकिस्तानी सेनामाथि आक्रमण गर्न थालेपछि पाकिस्तानले यस्तो निर्णय लिएको हो।

केही समययता सीमा क्षेत्रमा गोली हानाहान भइरहेको छ। पाकिस्तानी सेनाले तोर्खाम नाका बन्द गरेर अब अफगानिस्तानबाट आउने शरणार्थीमाथि ठूलो कारबाही गर्ने कडा सन्देश दिएको छ।

एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार पाकिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानबाट आएका ११ लाख शरणार्थीलाई फिर्ता पठाउन अनुमोदन गरेको छ।

पाकिस्तानले यी अफगानी अवैध रूपमा आफ्नो देशमा बसिरहेको दाबी गरेको छ। अफगानिस्तानमा अगस्ट २०२१ मा तालिबान सरकार आएपछि ४ लाख अफगानी अवैध रूपमा पाकिस्तान प्रवेश गरेको पाकिस्तानले बताएको छ।

यसैगरी देशमा अवैध रूपमा बसोवास गरिरहेका ७ लाख अफगान नागरिकको पहिचान भइसकेको स्रोतले जनाएको छ।

पाकिस्तानी मन्त्रिपरिषद्ले ती अफगानीलाई उनीहरूकै देश फिर्ता पठाउने व्यवस्था मिलाउन अधिकारीहरूलाई आदेश दिएको छ। ती ११ लाख अफगानी शरणार्थीसँग पाकिस्तानमा बस्न न त भिसा छ न वैध कागजात नै।

पाकिस्तानले यो निर्णयका बारेमा अफगानिस्तानको तालिबान सरकारलाई जानकारी गराइसकेको छ। टीटीपी आतंकवादीसँग विवाद बढेका वेला पाकिस्तानले अफगानी शरणार्थीहरूविरुद्ध यस्तो कदम चालेको हो।

पाकिस्तानले टीटीपी आतंककारीलाई कारबाही गर्न पटक पटक तालिबान सरकारलाई भन्दै आएको छ। तालिबानले बारम्बार उनीहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यद्यपि तालिबान सरकारले उनीहरूलाई अहिलेसम्म कुनै कारबाही गरिरहेको छैन।

पाकिस्तानको यो कदमपछि अब तालिबान सरकारले जवाफी कारबाही गर्न सक्नेछ। टीटीपीले पाकिस्तानी सेनाविरुद्धको आक्रमण तीव्र बनाएको छ। हालै टीटीपीले पाकिस्तानको चित्राल जिल्लाको ठूलो क्षेत्र कब्जा गरेको थियो। उनीहरू अझै ती पहाडी शिखरमा बसिरहेको बताइएको छ। उनीहरूले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गरिरहेका छन्