टाेपबहादुर र बालकृष्णसहित १६ जना जेल चलान, २ जना धराैटीमा रिहा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये २ जना धरौटीमा रिहा हुने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेका १८ जना मध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । महर्जन ५ लाख र टंक गुरुङ १० लाख धरौटीमा रिहा हुने भएका हुन् ।

बाँकी १६ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे इजलाशले यस्ताे आदेश दिएकाे हाे ।

उक्त प्रकरणमा पक्राउ परेका नेकपा पूर्व उपप्रधानमन्त्री समेत रहेको नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

त्यस्तै नेपाल सरकारका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पुर्पक्षका लागि थुनामै रहने भएका छन् ।

त्यस्तै, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि थुनामै रहने छन् ।

उक्त प्रकरणमा केशव दुलाल र सानु भण्डारी बिचौलियाको रुपमा चिनिएका थिए । ललितपुरका हरिभक्त महर्जन पनि जेल जाने भएका छन् ।

यो प्रकरणमा फरार हुने अभियुक्तहरुमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज, केशव तुलाधार, अशोक पोख्रेल, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल र आशीष बुढाथोकी छन् ।

यो प्रकरणमा ३० अभियुक्त विरुछ सरकारी वकिलको कार्यालयले १० जेठमा विभिन्न ५ वटा मुद्दा चलाएको थियो । २१ जेठबाट अदालतमा थुनछेक बहस सुरु भएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लाखौँ तथा करोडौँ रुपैयाँ असुलेर अमेरिका पठाउने कार्यमा सहभागी भएको आधारमा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।