प्रथम कोप चेसको उपाधि सुदीप तामाङ्गलाई

काठमाण्डौं । प्रथम कोप ब्लिज रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाण्डौंका युवा खेलाडी सुदीप तामाङ्गले जितेका छन् । उपाधिसङ्गै सुदीपले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

सोमबार भएको नवौं चरणको खेलमा सुदीपले पुरुषोत्तम सिलवालसँग बराबरी खेलेपछि उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा सुदीपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै साढे ७ अंक जोडेका थिए ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बुद्धिचाल महासंघको सहयोजनामा भएको प्रतियोगितामा समान साढे सात अंक जोडेका फडे मास्टर क्षितिज भण्डारी दोस्रो भए । उनी सुदिपसँग प्रोगे्रशिप टाइब्रेकरमा पछि परे । उनले सात हजार नगद पुरस्कार जिते ।

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले तेस्रो स्थानमा चित्त बुझाए । उनी अन्तिम चरणमा क्षितिज सँग बराबरी खेल्न पुगेका थिए । पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरविर लामा, राजन पुरी र श्रीलंकाकी ओमवन आइएम एम सचिन रणसिंगे क्रमशः चौथो देखि दशौं स्थानमा रहे ।

रणसिंगे महिलातर्फ प्रथम भइन् । ५५ बर्ष उमेरसमुह माथि भने भगवती प्रसाद शर्मा उत्कृष्ट रहे । सहकारीतर्फ एनसीएफका डिजिएम सुरेश थापा प्रथम भए । महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए । वेष्ट ¥याटिङ सुधार गर्नेमा मनोज कुमार श्रेष्ठ उत्कृष्ट रहे ।

विजेता खेलाडीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुर गौतमले पुरस्कार वितरण गरेका थिए ।

महासंघका अध्यक्ष कँडेलले चेस प्रतियोगितालाई आगामी दिनमा अझै भव्य रुपमा आयोजना गर्ने घोषणा गरे । ललितपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १११ जनाको सहभागीता रहेको प्रमुख आर्विटर उमेश केसीले बताए ।

प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री केशव बडाल र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष गौतमले चेसको गोटी चालेर गरेका थिए ।

सो अवसरमा नेपाल बुद्धिचाल महासंघका पूर्व अध्यक्ष स्व राजेशहरी जोशीले चेस र सहकारीलाई सँगसँगै लैजाने खोजेको र आज त्यो सपना पुरा भएको बत्ताहरुले बताएका थिए ।