सोलुखुम्बु — विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी कार्यमा संलग्न २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।सोलुदुधकुण्ड नगरपालिका–४, बागवानीस्थित हिरा कार्कीको घरमा आएकी उनकी कान्छी बहिनीजयन्ता कार्कीलाई प्रलोभन देखाई ठगी गरेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार भारतको साहर्सा पुरुषोत्तमपुर निवासी ३२ वर्षीय अजयकुमार र १९ वर्षीय करणकुमारले सुनका गरगहना सरसफाइ गरिदिने बहाना बनाई जयन्ताको सुनको सिक्री, औंठी र रिङ लुटेको आरोप छ ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउपछि अभियुक्तहरूको साथबाट सुन सफा गर्न प्रयोग गरिएका सामग्री, रसायन र दुवै जनाको झोलासहित ठगीमा प्रयोग भएको सरसामान प्रहरीले बरामद गरेको छ ।अभियुक्तहरुलाई जिल्ला अदालत सोलुखुम्बुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अनुसन्धानको जिम्मा लिएका प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए ।