एक वर्षमा जन्मिए प्रसूति गृहमा २२ हजार ३ सय १३ शिशु

९ हजार ११ निःसन्तान दम्पतीले लिए सेवा

काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २२ हजार ३ सय १३ जना शिशुको जन्म भएको छ। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार गत एक वर्षमा अस्पतालमा ३० हजार ९५२ जना महिलाहरू उपचारको लागि भर्ना भएका थिए।
जसमा २५ हजार ११६ जना महिलाले प्रसूतिसम्बन्धी सेवा लिएका थिए। यसरी प्रसूतिसम्बन्धी सेवा लिने महिलाबाट गत एक वर्षमा २२ हजार ३ सय १३ जना शिशुको जन्म भएको हो। यसरी जन्म भएकाहरू मध्य ९ हजार ९०६ जना बच्चाहरू शल्यक्रियाको माध्यमबाट जन्म भएको अस्पतालका निर्देशक डा अधिकारीले बताए।

अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा निर्देशक डा अधिकारीले भने, ‘गत एक वर्षमा हाम्रो अस्पताल जसमा २२ हजार ३ सय ७९ जना शिशुको जन्म भएको छ जसमा ९ हजार ९०६ जनाको शल्यक्रिया माध्यमबाट जन्म भएको छ, शल्यक्रिया माध्यमबाट शिशुको जन्म हुने यो संख्या गत वर्षको भन्दा ४ प्रतिशत बढी हो।’
यस्तै, अस्पतालमा रहेको निःसन्तान तथा आईभीएफ सेवा इकाइबाट गत एक वर्षमा ९ हजार ११ जना निःसन्तानसम्बन्धी सेवाग्राहीहरुले ओ.पी.डी.बाट सेवालिएको, जसमध्ये २ सय २२ जना महिलाहरुले आई.यू.आई. सेवा र २० जना निःसन्तान सेवाग्राहीहरुले आईभीएफ सेवा लिएको निर्देशक डा अधिकारीले बताए।
२०६८ सालमा संचालित देशकै पहिलो सरकारी आईभीएफ सेवा २०७२ सालको भूकम्पपश्चात स्थगनमा रहेको र आ.व. २०७८-७९ देखि यस सेवालाई स्तरोन्नति गरी पुनः नियमित रूपमा संचालनमा ल्याई हालसम्म ५८ जना सेवाग्राहीलाई सेवा दिइसकेको स्त्रीरोग विशेषज्ञसमेत रहेका अस्पतालका निर्देशक डा अधिकारीले बताए। यस्तै, अस्पतालले आई.भी.एफ. सेवाको गुणस्तर बढाउन हालै इक्सी मेशिन सेवा संचालनमा ल्याएको जनाएको छ।
यस्तै, अस्पतालले गर्भावस्थाको शिशुको मुटुको जाँच सेवा गत २०८१ जेष्ठ १ देखि नै संचालनमा आइसकेको छ। भ्रूणसम्बन्धी विकलांग अवस्थाको पहिचानको लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको हुँदा यस अस्पतालमा एनोमोली स्क्यान निरन्तर भइरहेकोमा हाल अस्पतालमा नियमित तवरबाट गर्भावस्थामा रहेको शिशुको मुटुको जाँच (फेटल इको तथा मेटर्नल इको) सम्बन्धी सेवा संचालनमा ल्याएको अस्पतालले जनाएको छ।
यसैगरी नवजात शिशुको वंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ्ग सेवा यसै वर्ष २०८१ श्रावण २९ गते देखि संचालनमा ल्याइएको छ। जसले गर्दा जन्मपश्चात् हुने मानसिक सुस्तता, दीर्घरोग एवं नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षास्वरूप यो सेवा ल्याइएको अस्पतालले जनाएको छ।

विक्रम सम्वत २०१६ साल भाद्र १० गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शैय्याबाट परोपकार संस्थाले स्थापना भएको अस्पतालले आफ्नो स्थापनाको थियो। हाल सरकारीस्तरबाट प्रसूति तथा स्त्री रोगसम्बन्धी विशिष्टिकृत सेवा दिने एक मात्र अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हो।