काठमाडौं, २१ साउन
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ बुदबुदे चोकमा लु.८५ प ५१६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीया बाल कुमारी नेपालीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको माया नर्सिङ होम हुँदै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा, रामपुर नगरपालिका-५ सानीअमराईस्थित सडकमा लु.१ ज ४१३३ नम्बरको जिप र लु.१ ह ४१३८ नम्बरको अटो एकआपसमा ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा अटो चालक निस्दी गाउँपालिका-२ घर भई रामपुर नगरपालिका-५ मटेरीमा डेरा गरी बस्ने ४५ वर्षीय चोक बहादुर ढेगाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका अटोमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।