४ महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स

काठमाडौँ – चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण (रेमिटेन्स)आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार एक सय ९६ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई रु ४ खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।