काठमाडौँ —नेपाल प्रज्ञाप्रतिष्ठानको ४२औं प्राज्ञसभाको उद्घाटन प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले गरेका थिए।
प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञाप्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँदै देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध पनि लागिपर्नुपर्ने बताएका थिए।
उनले सांस्कृतिक क्षेत्र राज्यको तहबाट ओझेलमा पर्नु नहुने कुरामा जोड दिएका थिए। उद्घाटन सत्रका अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा,साहित्य र संस्कृतिको मूल्य स्थापित गर्दै पश्चगमनविरुद्ध समाजवादी संस्कृतिका पक्षमा लाग्न जोड दिएका थिए।
उद्घाटन सत्रका अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताएका थिए।
प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले प्राज्ञकर्मीहरू पनि माहुरी जस्तै हुन र प्राज्ञसभाको निर्देशनबमोजिम अघि बढ्ने बताएका थिए।
उद्घाटन सत्रका अतिथि नेपाल सङ्गीत तथा नाटय प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भु राईले प्राज्ञिक उन्नायनका लागि सबै लागि पर्नुपर्ने बताए।
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले प्राज्ञिक समृद्धिका लागि आफू लागिपर्ने बताएकी थिइन्।
प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य नीनु चापागाईंले शुभकामना मन्तव्य राखेका थिए।उद्घाटन सत्रको सञ्चालन प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गरेका थिए।
उक्त ४२अौँ प्राज्ञसभाको उद्घाटन तथा बन्दसत्रको अध्यक्षता प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए। बैठकसामु सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यसूची प्रस्तुत गरेका थिए।
प्रस्तुत कार्यसूचीमाथि प्राज्ञसभा सदस्यहरूले आआफ्ना धारणा राख्दै नेपाल प्रज्ञाप्रतिष्ठानको चालु आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन, बजेट, नीति तथा कार्यक्रमहरू पारित गरेको थियो।
नेपाल सरकारबाट प्राप्त वार्षिक अनुदान र आन्तरिक स्रोत गरी २३ करोड ६४ लाख १० हजारको बजेट सभाले पारित गरेको थियो।
प्राज्ञसभाले नेपाल प्रज्ञाप्रतिष्ठानका नीति तथा कार्यक्रमहरू पारित गरेको थियाे। जसअनुसार प्रज्ञा नेपाली बृहत् शब्दकोश परिमार्जन र विस्तार तथा प्रज्ञा नेपाली व्याकरणको लेखन, सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपाल दिग्दर्शन ग्रन्थ प्रकाशन गर्ने, नेपालको मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनको थालनी र निरन्तरता गर्ने र नेपालमा बोलिने विभिन्न मातृभाषाको कोश तथा व्याकरण लेखनलाई निरन्तरता दिने छन्।
त्यस्तै प्रदेश तथा पालिकास्तरका प्रतिष्ठान तथा साहित्यिक संस्थाहरूसँगको सहकार्यमा भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धानका साथै गोष्ठी र अन्तरक्रिया सञ्चालन गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानको वार्षिकोत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी र अन्तरक्रिया गर्ने, नेपाली भाषाबाट विभिन्न मातृभाषा तथा विदेशी भाषामा, मातृभाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषाहरूमा विभिन्न कृतिको अनुवाद तथा प्रकाशन गर्ने, नेपाली जनताको सङ्घर्ष, बलिदान र वीरताको गाथा एवम् सौन्दर्यात्मक मूल्यको खोजी र स्थापनाका लागि कार्य गर्ने रहेका छन्।
त्यसै गरी नेपाल प्रज्ञाप्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न जर्नल – पत्रिकाहरू प्रकाशन गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानबाट स्थापित पुरस्कारहरूमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रकाशनहरू देशका विभिन्न स्थानमा पुर्याउन पहल गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठान पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रूपमा विकास गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानबाट यसअघि हुँदै आएका र गरिँदै आएका योजना तथा कार्यक्रमलाई थप प्रभावकारितासहित व्यवस्थित बनाउने, साहित्यका कविता,आख्यान, निबन्ध, गजल र नाटक आदि विधामा राष्ट्रिय एवम् क्षेत्रीय महोत्सवहरू, भाषा, साहित्य,संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रका विषयमा कार्यशाला र गोष्ठीहरू सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रमहरू प्रज्ञासभाबाट पारित गरिएकाे छ।