Trending Now

कोलकातामा चतुर्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

कोलकाता, भारत — भारतको सांस्कृतिक सहर कोलकातामा चतुर्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । कोलकाताका नेपाली भाषीले नेपाली भाषा, साहित्य, कला र संस्कृति जगेर्ना गर्न विविध गतिविधि तथा कार्यक्रमहरु ग्रिरहन्छन्  । साहित्यिक गतिविधि र सांस्कृतिक कार्यक्रमहरु भैरहन्छन् । भारत–नेपाल जनमैत्री सांस्कृतिक संघले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्दै आएको छ । सेप्टेम्बर १० र ११ दुईदिने सम्मेलनको चौथो संस्करण मध्य कोलकाताको भारतीय भाषा परिषदमा सम्पन्न गरिएको छ  ।
पहिलो दिन शनिबार नेपाली भाषा र साहित्यका विविध आयामबारे छलफल भयो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले सम्मेलनले भाषा, साहित्य र कलाका माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए । ‘भाषा, साहित्यले जनस्तरमा गहिरो प्रभाव पार्छ,’ उनले भने । सुवेदीले भारतमा बसेर पनि कोलकाताका नेपालीले भाषा, साहित्यको जगेर्नामा योगदान गरेको भन्दै यस किसिमको गतिविधिमा नयाँ पुस्तालाई पनि समेट्दै लैजानुपर्ने बताए ।
उक्त कार्यक्रममा नेपालबाट गएका स्रष्टाहरुको सहभागिता पनि रहेको छ ।
भारतीय साहित्य एकेडेमीका क्षेत्रीय निर्देशक देवेन्द्र देवेशले नेपाल र भारतबीच सदीऔं पुरानो साइनो रहेको चर्चा गर्दै भाषा, साहित्य र कलाले यो सम्बन्ध टिकाइराख्न थप भूमिका निर्वाह गरेको बताए । ‘नेपाल र भारतबीच निरन्तर विचार विनिमयको खाँचो छ,’ उनले थपे, ‘यसले हाम्रो सम्बन्ध सधैं बरकरार राख्ने छ ।’ देवेशले नेपाली साहित्य विश्वस्तरको रहेको चर्चा गर्दै संसारभर यसको प्रचारका खातिर दुई देशबीच सहकार्य जरुरी रहेको औंल्याए । ‘पछिल्लो नेपाली साहित्य ज्यादै स्तरीय बन्दै गएको छ, यसलाई अनुवादको माध्यमबाट विश्वस्तरमा फैलाउन जरुरी छ,’ उनले भने ।

 

Comments are closed.