धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

 

काठमाडाैं । २०७२ को भूकम्पले पूर्ण रूपमा क्षति भएपछि पुर्ननिर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक महिना पुगेको छ ।
यस अवधिमा प्रवेश शुल्क स्वरूप ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो साेमबारसम्मा ५५ लाख राजस्व संकलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले हप्ताको एक दिन बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब १ हजार २ सय जनाले धरहरा चढ्ने गरेको बताउनुभयो । ‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन’- उहाँले भन्नुभयो ।
निर्देशक अर्यालका अनुसार बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी ऐतिहासिक धरहराको अवलोकनको व्यवस्था गर्न सकिएको छैन । पछिल्लो समय छिमेकी मुलुक भारतबाट ऐतिहासिक धरहरा अवलोकन गर्न आउने गरेका छन् ।
बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक १ हजार ५ सय बढीले धरहरा चढेर अवलोकन गर्ने अनुमान छ । धरहरा चढ्न प्रतिव्यक्ति २ सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार शुल्क ताेकिएकाे छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मंसिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो ।
यहाँ पार्किङ गर्दा चार पांग्रेका लागि प्रतिघण्टा २० र दुई पांग्रेलाई १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ । व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार ताेकिएकाे छ ।