काठमाडौं, मेलम्ची खानेपानीमा ७ अर्ब अनियमितता, अख्तियारद्वारा ३ पूर्वसचिवसहित १८ प्रतिवादीविरुद्ध मुद्दा,अध्यागमनका महानिर्देशक तामाङ पनि तानिए | पूर्वसचिवमा भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन्। मेलम्ची खानेपानी परियोजनामा करिब सात अर्ब भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ व्यक्ति र ३ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारले ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको बिगो मागसहित आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तीनजना पूर्वसचिवसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीलाई प्रतिवादी बनाएको छ ।
अध्यागमन विभागका महानिर्देशक तथा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध पनि अनियमितताको आरोप लागेको छ ।उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो र जरिवाना तथा कैद सजाय मागदाबी गरिएको छ ।भ्रष्टाचारको मुद्दा लागेका पूर्वसचिवहरू सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर हुन् । उनीहरुलार्इ क्रमश: जनही ६ करोड ९७ लाख ८३ हजार, ४ करोड ११ लाख ३४ हजार र ६० करोड ४९ लाख १९ हजार रुपैयाँ बिगो र कैद सजाय माग गरिएको छ ।काठमाडौं उपत्यकामा खानेपानी ल्याउन निर्माण गरिएको मेलम्ची परियोजनामा कामै नगरी रकम भुक्तानी गरेको, भएको कामभन्दा बढी भुक्तानी गरिएको, ठेकेदारलाई लाभ हुनेगरी निर्णय गरिएको लगायतको कसुरसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
काठमाडौंमा खानेपानी ल्याउन २०४८ सालमा सुरु भएको मेलम्ची खानेपानी आयोजनाको काम पूर्ण रुपमा अझै सकिएको छैन् ।अधिकांश काम सकिएर काठमाडौंमा पानी ल्याउन थालेकै वर्ष सिन्धुपाल्चोकको मेलम्ची नदीमा दुई वर्षअघि आएको बाढीले खानेपानी आयोजनाको मुहान पुरेपछि पुनर्निर्माण अधुरै छ । निर्माणमा करिब ४० अर्ब रुपैयाँ खर्च भइसकेको छ । अख्तियारले दायर गरेको मुद्दामा दुईवटा परामर्शदाता र एउटा निर्माण कम्पनी हो । अरु सहसचिवसहितका कर्मचारी हुन् ।मन्त्री र राजनीतिक नियुक्ति पाएकाहरु भने अख्तियारको मुद्दामा तानिएका छैनन् ।