नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशन असार ४ गतेबाट सुरु

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने बताउनुभयो । उहाँले नेपाली ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध संघहरुको अधिवेशन सम्पन्न भइसकेको पनि जानकारी दिनुभयो ।

महासचिव कुँवरले करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा कांग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरु, नेपाल सरकार, रोगारदाता संघका विशेष प्रतिनिधिहरुको सहभागीतामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने बताउनुभयो ।

महासचिव कुँवरले वर्तमान समयमा श्रमीकका मुद्दाहरु थप चुनौतिपूर्ण बन्दै गएको र श्रमीकका आधारभुत अधिकार कटौति हुन थालेको बारेमा महाधिवेशनमा विशेष छलफल हुने बताउनुभयो । उहाँले श्रम ऐनमा भएका व्यवस्थाको अपव्याख्या गर्दै कार्यस्थलबाट श्रमीक कटौती गर्ने काम सुरु भएकोप्रति आपत्ति जनाउनुभयो ।