बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित

अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ। जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ।

प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ। सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरुमा विद्यालयसमेत बन्द गरिएको छ।

त्यस्तै, ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरु, ६ वटा टोल बुथ र एउटा पुल अवरुद्ध भएको छ।