इजरायलको आक्रमणमा ९ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं : इजरायलले वेस्टब्यांक क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा ९ प्यालेस्टाइनीको मृत्यु भएको छ।

वेस्ट ब्यांकको जेनिनमा रहेको शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाले हवाई तथा स्थल कारबाही जारी राखेको छ। आक्रमणमा एक सयभन्दा बढी घाइते भएको र कयौँको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

झण्डै १४ हजार प्यालेस्टाइनी सर्वसाधारणले आश्रय लिइरहेको जेनिन शिविरमा आतंकवादीहरु बसेको भन्दै इजरायले निर्णायक कारबाही थालेको हो। इजरायली सेनाको आक्रमणपछि हिजो दिनभर र रातभरजसो जेनिन क्षेत्रभर गोली हानाहानका घटना भएका छन्।

शिविरमा हवाई आक्रमण भएपछि तीन हजार भन्दा बढी प्यालेस्टाइनी शिविर छोडेर भागेका छन्। शिविर छोडेर जाने सबैजसो सर्वसाधारण रहेको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ। उसले इजरायली सेनाले शिविरमा हत्याकाण्ड चलाएको दाबी गरेको छ।