दुई दिने इलाम साहित्य महोत्सव सम्पन्न

इलामः ‘दुई दिने साहित्यको कुम्भ मेला इलाममा सम्पन्न भएको छ । ‘पर्यटनकालागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा सम्पन्न गरिएको हो ।
कार्यक्रमका धेरै जसो एजेन्डा मध्ये साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्म’ विषयमा प्रस्तुति रहेको थियो ।
यस्तै नेकपा ९एकीकृत समाजवादी० का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीच ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा राजनीतिक बहस भएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच ‘लेखन सफल कि सार्थक’ विषयमा संवाद चलेको थियो ।
कवित्रय तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन बीचमा ‘कवितामा स्थानीय चेत’का विषयमा संवाद भएको थियो । कुमार नगरकोटीले कविता वाचन गरेका थिए। साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए। साथै साँझ विभिन्न जिल्लाबाट आउनुभएका गजलकारले गजल वाचन गरेका थिए ।
महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको थियो । यसमा इलामस्थित चियाबारीमा चित्रकारले लोपोन्मुख रेडपान्डाको चित्रकला बनाएका थिए । रेडपान्डाको संरक्षणबारे चेतना जगाउन चित्रकला प्रदर्शन गरिएको थियो ।

 

Comments are closed.