विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको बुद्धशान्ती गाउँपालिकाको बुधबारेमा आयोजना भएको एक कार्यक्रमलाई पहिचानवादीले बिथोल्ने प्रयास गरेका छन् ।
नेकपा एमालेको आयोजनामा भएको कार्यक्रमलाई कोशी प्रदेशको नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले बिथोल्ने प्रयास गरेका हुन् ।
ओलीले सम्बोधन गर्ने कार्यक्रमलाई बिथोल्ने गरी पुगेका केही पहिचानवादीहरूले कार्यक्रम स्थलमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नेकपा एमालेले आयोजना गरेको कार्यक्रम लक्षित गरी ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने प्रयास गर्दा पहिचानवादीले प्रहरीलाई लक्षित गरी ढुङ्गा हानेको जानकारी दिए ।
पहिचानवादीले हानेको ढुङ्गा लागेर दुई प्रहरी घाइते भएको पोखरेलले जानकारी दिए । प्रहरीले घटना हुन नदिनका लागि पहिचानवादीलाई त्यहाँबाट हटाउने प्रयास गर्दा केही बेर प्रहरीमाथि पहिचानवादीहरू जाईलागेका थिए ।
घटनामा घाइते भएका दुईजनालाई उपचारको लागि नजिकै रहेको अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
अहिले ओली कार्यक्रम सकेर गन्तब्यतर्फ फर्किसकेको जनाइएको छ ।
Comments are closed.