भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

भरतपुर । चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५ सय ८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार ५ सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार ५ सय ५५ जना विदेशमा रहेका र ११ हजार २ सय ३१ जना नेपाल फर्किएका छन् ।
हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन् ।
वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राम्ह्ण–क्षेत्री परिवारका छन् । ब्राम्ह्ण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) ८ हजार ५ सय ७२ जना, आदिवासी जनजाति (मधेसी) १ हजार ७२ जना, अरू दलित समुदाय र अन्य समुदायका रहेका बताए ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्याङ्कसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए ।
महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाको तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

Comments are closed.