सडक स्तरोन्नति गर्दा ८० हजार घुस लिने सव-इन्जिनियरसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले दोलखामा ग्रामीण सडकको स्तरोन्नति गर्ने कार्यमा भ्रष्टाचार गरेको भन्दै सवइन्जिनियर हिराबाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।उनीहरूले दोलखाको बिगु गाउँपालिका-३ स्थित लाँकुरी डाँडा-पिपल डाँडा ग्रामीण सडक स्तरोन्नति गर्ने क्रममा ८० हजार घुस लिएका थिए ।आर्थिक वर्ष २०८०/०८१ मा उक्त योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा थापाले सेवाग्राहीसँग ८० हजार रुपैयाँ मागेका थिए ।साथै कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई उनले उक्त रकम लिन लगाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
आयोगले ८० हजार रुपैयाँ बिगो कायम गरेर शिवाकोटी र शेर्पालाई पनि मुख्य कसुरदार थापा सरह नै सजायको मागदाबी गरेको छ ।