ए डिभिजन: जावलाखेल र संकटाबीच बराबरी

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटाबीचको खेल बराबरीमा टुङ्गिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै एक/एक अंक बाँडेका छन्। दुई शून्यले पछि परेको जावलाखेलले अन्तिम समयको ११ मिनेटमा दुई गोल गर्दै खेलमा पुनरागमन गरेको हो।
जावलाखेलका लागि कुमार दास र समीरराज थोकरले गोल गरे। संकटाका लागि आयुष घलान र एनकोटो मेसोबाईले गोल गरे। बराबरीसँगै शीर्ष स्थानको चर्च ब्वाइजसँग एक अंकको दूरी घटाउने जावलाखेलको सपनामा धक्का लागेको छ भने दोस्रो स्थान पनि गुमाएको छ।
आजै भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ। च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले एनआरटीमाथि २–० को जित निकालेको हो। मच्छिन्द्रको जितमा ओलावाले हाफिज र सौरभ लिम्बुले गोल गरे।
जितसँगै मच्छिन्द्र ३४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
सशस्त्र प्रहरीको एपीएफ र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल भने बराबरीमा टुङ्गिएको छ। दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै एक/एक अंक बाँडेका छन्।
मनाङका लागि तिमोदी कोडु र सुमित श्रेष्ठले गोल गरे। एपिएफका लागि नवीन लामा र अर्माण्ड बिनोङले गोल गरे। बराबरीसँगै मनाङले लिगमा २४ अंक जोडेको छ। एपिएफले २३ अंक बनाएको छ।