कोट र माउजङ बाबुसाहेब एक–अर्काका पर्याय नै थिए । कुनै पनि नाचमा, सभामा, भोजभतेरमा, मारपिट, त्रास, आतङ्क आदि सारामा त्यही गहिरो मास रंगको बेन्सनको लामो ओभरकोट लगाउँथे । कोटले कहिलेदेखि माउजङ बाबुसाहेबको प्रतिनिधित्व गर्न थालेको हो, त्यो कुरा एउटा खोजको विषय थियो ।
माउजङ बाबुसाहेब एक जना घरानियाँ राणा, नेपालगन्ज इलाकामा बिर्तावाला, अत्यन्त क्रोधी, उद्दण्ड व्यक्तित्वका मानिस हुन् । कसैको घरखेत जफत गरी लिनु, कसैलाई कुटी लुछी छाड्नु र कसैलाई आमाचकारी गाली गरी बेसरी बेइज्जत पारिदिनु इत्यादि उनको चिनारी । यस्ता सारा आतङ्कहरूमा रैती दुनियाँका मानस चक्षुमा त्यही बेन्सनको ओभरकोट नै उदाउन आउँथ्यो ।
बाबुसाहेबको वास्तविक नाउँ, जो कदाचित् ‘हुमायु जङ्गबहादुर राणा’ थियो होला, सारालाई भयत्रस्त पारी माउजङ बाबुसाहेब हुन गएको थियो ।
माउजङ बाबुसाहेबको आतङ्कको प्रतीक त्यो कोट नै थियो । अजेय गौरवशाली त्यस कोटबारे कुनै कुरा कोट्याउन कसैको हिम्मतै थिएन । कोटको मूल चहकिलो मास रङ आज धुस्रो, फुस्रो र मैलो, विरूप हुन गए पनि साराका आँखामा त्यो चहकिलो मास रङकै देखा पथ्र्यो ।
प्रजातन्त्रपछि बाबुसाहेबको व्यक्तित्व मुर्मुरिएको थियो । कोटलाई पनि मैलो, पुरानो, धमिलो भनेर सबैले उपहासले टक लगाएर हेर्ने धृष्टता गर्न थालेका थिए । अझ कोही त मुसुमुसु हाँस्न पनि बाँकी राख्दैनथे । बाबुसाहेबका कानमा पनि एकदिन यी कुराहरू पुगे । उनले भित्ताको किलामा झुन्डिएको कोटलाई हेरिरहे र अतीत इतिहासको स्मरण गरे । उनले सम्झे कि. प. क. ज. साहेबबाट बक्सिएको यही कोट … । परचक्री समय, हरे, आज त्यस्तो कोटलाई हाम्रो प. क. ज. ले बकस दिएको भनेर होच्याउने… ।
जुरुक्क उठेर बाबुसाहेबले किलाबाट कोट झिके र उज्यालो ठाउँमा लगी निरीक्षणका दृष्टिले हेरे ।
“क्या चिज रहेछ, कति ठिक्कको, कस्तो एक घर पनि यताउति नपारी होसियारी साथ सिइएको कोट । ब्रह्माले पनि मानिसको ठाउँ कुँद्दा यति सावधानी त के राखेका होलान् ?”
अनि मूक सोचिरहेको बाबुसाहेबको दृष्टि कोटको कलरमा प¥यो । मैलो भएको, केही धस्किसकेको र त्यहाँका धागाहरू अलि झुत्रिएका प्रस्टै देखिन्थ्यो । यसैले यसको महत्त्व कम पारेको त … ? सबै थोक पुरानो त हुन्छ । मानिस बुढा हुन्छन् तर बुढो हुँदैमा कसैको जात, घरान, गौरव, महिमा पनि बिग्रन्छ र ? यो कोट… । अब त हिन्दुस्थानीहरूको राजमा परेको ह्वाइटवे लेडला कम्पनीमा पनि यस्तो कोट त के तयार हुन्छ होला र ? ती कालिगडहरू खानै नपाएर गइसके होलान् । अब यस्तो दामी कोट लाउने को ? कोट के, यो कपडा नै अब कहाँ छ ? बेलायतमा पनि त यस्तो कपडा कहाँ बन्छ र ? अङ्ग्रेजहरू पनि विचरा ओरालो लागे । हिन्दुस्थान थियो र पो राजसी रवाफ, सारा दुनियाँभन्दा माथिल्ला तहका । हाम्रै काठमाडौंको पनि त अब त्यो रवाफ के होला र… ?
सोचाइको यही सिलसिलामा बाबुसाहेबले जर्नेलहरूको दरबार सम्झे, त्यहाँका सजावट । पित्ले बुट्टा परी, लता, फुल इत्यादि कालिगडी भएका फलामको पलङ, डबल स्प्रिङ, क्या लच्कने । ठुल्ठूला कोठा, बेलायत, जर्मनी, रुस रोमका राजा–रानीहरूका सुनौला फ्रेमका ठूलामा पनि ठूला तस्बिर… । चाँदी भनेको त मामुली कुरो, सुन भनेको त परवाहै छैन । चाँदी, सुनकै त्यति ठूला–ठूला भाँडाकुँडा, राम्रा फूलदान, त्यतिका राम्रा–राम्रा लुगा लगाएका राम्रा–राम्रा सहयोगी, सुसारे, केटीहरूको फौज, नोकरचाकर, सुब्बा, छाते, मुखिया, मोटर, घोडा, बग्गी … ! के–के सम्झीसाध्य छ र ती अचम्महरूलाई ? त्यसपछि बाबुसाहेबले सारा दरबार र चाकरियाको घुइँचो, मानिसहरूको ठेलमेल, दगु¥याइँ पनि जम्मै सम्झे । रवाफ भनेको त त्यस्तो पो त । तर … अब ती सारा के होलान् ? कहाँ होलान् ?
बाबुसाहेबले कोटलाई पुनः ओल्टाई पल्टाई हेरे । त्यो त्यतिका महत्त्व, गौरव र महिमामय अतीतको प्रतीक, बेन्सन कपडा, ह्वाइट्वे टेलरिङ विभागमा तयार भएको कोट । बाबुसाहेबले उठेर स–सम्मान त्यो कोट किलामा झुन्ड्याए, अनि गौरवपूर्ण मानसिकताको प्रभावमा एउटा खास किसिमको गुरुत्वमय भावले आफ्नो आसनमा बसे । भित्रभित्रै उनको अचेतनले एउटा बोध लियो, “यो केही पनि होइन । खालि भित्री इखले यस कोटको गौरव खप्न नसकेर मात्र आफैं बढेका यी जम्मै विद्रोहीहरू । यिनले बाहिर–बाहिर गिज्याउन खोजेको नत्र भने आफैं मनमनै त, जम्मै हेर्न पर्यन्त नपाएका, त्यस्तो कोटप्रति लोभिएकै होलान् नि । फटाहा, छुच्चा ।”
बाबुसाहेबले अतीतका अनेकन् उत्सव, भेटघाट, स्वागत समारोह, पूजाआजा, जन्ती भोज
जम्मैमा आफ्नो महान् ठुल्याइँ, बडाइँ र कोटको महिमाका अवसरहरू सम्झे । जहाँ पनि, जुन अवसरहरूमा पनि यही गहिरो मास रङको कोट विभिन्न थरीका नजरहरूको केन्द्राकर्षण रही नै आएको हो । बाबुसाहेबले परिमेय गुरुतामा मनमनै भने, “साराका सारा जम्मै बद्मासी । मामुली कोट हो र ! यो त चिज पो हो त, चिज ।”
गृहमन्त्रीको दौडाहा हुने भएकाले उनको स्वागतको प्रबन्ध मिलाउने समितिले माउजङ बाबुसाहेबलाई निम्त्याएको थियो । नेपालगन्ज बजारमा जानुभन्दा एक दिनअघि नै बडो सावधानीसाथ बाबुसाहेब आफैंले कोटलाई रामरी सुकाएर ब्रस लगाउन थाले । धूलोको मुस्लो नै उठेको जस्तो थियो । कहिले पनि ब्रस लगाएकै रहेनछ । उनले सुसारे, सहयोगी, बैठकेदेखि रानीसाहेबलाई समेत झपारे, “क्या हो यो ? आफैं नगरे हेर्नु देख्नु केही पनि छैन, होइन ? यो रास धूलो, यस्तो कोटमा । यसैले त यसको रङ नै धमिलिएको । नत्र रङ उठ्ने खालको हो र यो ? धूलैधूलोले भरिभराउ पारेर सक्कली रङ नै सखाप भएको पो त । जति गरे पनि धूलो निस्कन छोड्दैन ।”
बाबुसाहेबले बडो मुस्किलका साथ कोटलाई झारझुर गरी किलामा झुन्ड्याए । माथिबाट एउटा झुत्रोले बेरे । एउटा कुरा बिझ्न थाल्यो, “कति ठाउँमा कोट खुम्चिएको रहेछ । इस्त्री गर्नुपर्ने हो, यहाँ गाउँमा कसलाई दिने ? समस्या नै जटिल थियो । भोलि बिहानै ८ बजे बडा हाकिमकहाँ जानुपर्ने… ।”
दोस्रो दिन कोट पोको पारी एउटालाई बोकाई बिहान ६ बजे नै बाबुसाहेब नेपालगन्जतिर लागे । बजारको एक छेउमा नै रहेको गुरदिनको घरमा पुगी बाहिरबाटै उसलाई बोलाए । “ल त गुरदिन, अलि हिफाजतका साथ मेरो कोटमा इस्त्री गरी दे त ।”
गुरदिनले कालिगडीको नजरले हेर्दै भन्यो, “हुन्छ सरकार, इस्त्री तताउन प¥यो, एकछिनमा मानिस पठाइबक्से तयार पारी पठाइदिन्छु ।”
कुरा ठिकै थियो तर फेरि टाइममा गरिदिएन भने ? अझ इस्त्री लगाउँदा कपडाको जात नै नचिनेर डढाइदियो भने ? भित्रै तर्सेर पनि बाबुसाहेबले भने, “होइन, म त्यो साहुको पसलमा चुरोट खान्छु, इस्त्री चाँडै तता । अनि इस्त्री लगाउने काइदा बताउँछु, मामुली कोट त होइन नि । मैले सिकाएको जस्तो इस्त्री गर्नुपर्छ ।”
गुरदिनको अभिमानलाई चोट प¥यो, “कति–कति दामीभन्दा दामी कोट, प्यान्ट, लुगा यही हातले इस्त्री गरें, बनाएँ, यो जाबो थोत्रो कोटमा मलाई सिकाउने ?” तर, बाबुसाहेबका अगाडि उसले केही पनि भनेन । ‘हवस्’ मात्र भन्यो । एकछिनमा इस्त्री तातो भयो । टेबुलमा लुगासुगा ओछ्याई उसले कोट राख्नेबित्तिकै, टाढा पसलबाट हेरिरहेका बाबुसाहेब पनि आएर नजिकै एउटा त्रिपाईमा राज भए । गुरदिनले कोटको बाहुलामा इस्त्री के राखेको थियो, हत्पतिँदै बाबुसाहेब कराए, “पानी लगा, पानी लगा, डढ्यो डढ्यो ।”
वाल्ल परेर यसो टोल्हाउँदै गुरदिनले भन्यो, “सरकार, अहिले त इस्त्रीमा ताप चढेकै छैन । मधुरो तातो मात्र छ … ।” अन्तमा इस्त्री गर्न सिद्धियो ।
“आज पो साराले थाहा पाउँछन्, यो कोट क्या हो ! अलि ब्रसले झारेर इस्त्री लगाउनेबित्तिकै रवाफै अर्को भयो । म नै मूर्ख, किलामा झुन्ड्याउनुपर्ने हो र ? के गरूँ, आफ्नो त यही हो नि । फौजै पाल्नुपर्छ, आम्दानी भनौं, यही जाबो बिर्ता । बिर्ता भनेको बिर्तै हो, राजाबाट पाएको गौरव पो त ! यसैले जिन्दगी बिताएँ, गर्नेजति गरेकै हुँ, ढङ्ग नभएको पो, नत्र आम्दानी कम्ती हुन्थ्यो र ?” कहिले उनी बडा हाकिमको ढोकाभित्र पसेर बरन्डामा उभिए, थाहै पाएनन् । त्यहाँ पच्चीसौं मानिस बसेर कुराकानी गर्न थालेका थिए । बाबुसाहेबलाई देख्नेबित्तिकै बडा हाकिमले भने, “पाल्नुहोस् बाबुसाहेब, अबेला गर्नुभो । तपाईंले त ढोका आफैं बनाइदिनुपर्ने ।” अनि हाँस्तै पाखुरा समाती मेचमा बसाले ।
बस्दाबस्दै बडाहाकिमले पाखुरा समातेका ठाउँमा कोट खुम्च्यो कि भनी निधो गर्न बिस्तारै बाबुसाहेबले बाहुलामा नजर पु¥याए । कुराकानी चलिरह्यो । मुखले ‘हो, होइन’ भन्दै गरे पनि बाबुसाहेबको अन्तर्चिन्तन थियो— कोटको बाहुलामा हात पर्नेबित्तिकै बडाहाकिमले थाहा पायो होला कि कुन जातको लुगा रहेछ ! ठट्टा हो र ? जात भनेको जातै ।
तर, एकछिनपछि नै एकजनाले प्वाक्क भन्यो, “होइन बाबुसाहेब, मन्त्रीज्यू आउँदा पनि यही ओभरकोट लगाउने ? गर्मी त चढिसक्यो ।”
बाबुसाहेबले कुनै जवाफ नदिएर एकपटक उसको अनुहारमा मात्र टोल्हाए ।
“गर्मी भन्दैमा कोट नलगाई आउने हुँ र ? नेपालबाट आउने मन्त्री पनि ऊनको कोट लगाएरै आउनेछन्, थाहै छैन … ।” मनमनै आफैंसित यी कुराहरू भने पनि मुखले केही नबोली उपेक्षा देखाएर अर्कै कुरा गरिरहे । बीच–बीचमा अघि कोटको कुरा उठाउने खद्दरको इस्टकोट लाएको मान्छेको ओठमा जहिले पनि मुसुमुसु हाँसो खेलिरहेको देखेर बाबुसाहेब मनमनै मुर्मुरिन्थे पनि । तर, के गर्नु जमाना अर्कै छ । नत्र भने आज त्यसले कोटको खिल्ली उडाउन सक्थ्यो र ? एकाएक बाबुसाहेबले थाहा पाए— बडाहाकिमको नजर छिनछिनमा उनको गर्धनतिर कोटको कलरमा पुगिरहन्छ ।
बाबुसाहेबलाई अब त लाजै मर्नुप¥यो । गर्धनमा त सारै मैलो भई कलर अलि धस्केकै छ । असह्य लाजको जालमा परी बाबुसाहेबको अनुहार रातो भयो । अब त्यहाँ बसिनसक्नु भयो ।
कुनै तवरले १०–१५ मिनेट अझ अडेर आफ्नो कुरा टुङ्ग्याई छुट्टी लिएर बाबुसाहेब कोठाबाहिर आए । उनी बरन्डामुनि ओर्लेका मात्र थिए कि भित्रबाट हाँसोको समूह ध्वनि उनको कानमा प¥यो ।
“केले यसरी हाँसो उठेको होला, कुनै कुरो त थिएन ? पक्का पनि गर्धनमा धस्केको मेरो कोटकै खिल्ली उठाएका हुन् !” विषादमिश्रित विवश क्रोधले बाबुसाहेबका आँखा रसाएर आए । छिटो–छिटो पाइला सार्दै बाबुसाहेब मूल सडकमा आइपुगे । त्यतिन्जेल आँखामा आएका आद्र्रतालाई आँखाभित्रै सुकाउन समर्थ पनि भए । सारा संसार उनको यस चिर गौरव सम्पन्न कोटको महत्ताप्रति ईष्र्यालु भएर चारैतिरबाट यसको गुरु सम्मानलाई थिच्ने षड्यन्त्रमा लागेको छ भन्ने कुराको बाबुसाहेबले अनुभव गरे । हरे ! यस कोटले आफ्नो इज्जतपर्यन्त सँगालिराख्न नपाउने… ।
मन्त्रीको दौडाहा हुन आठ दिनमात्रै बाँकी थियो । बाबुसाहेबले लखनउ गएर कोट ड्राइक्लिनिङ गराउने र गर्धनमा धस्केको ठाउँमा रफ भर्न लगाउने निश्चय गरे । खर्चको मोटामोटी हिसाब लगाउँदा यत्तिकैमा ४०–५० रुपियाँ जाने भयो । घरका दुई–चार जना नोकर, सुसारे र मन परेकी केटीहरूले सुझाव दिए— बरु अरू ४०–५० रुपियाँ थपेर एउटा नयाँ कोट नै हाले झन् बेस । बाबुसाहेबले भने, “सय रुपियाँ हाल्दैमा नयाँ कोट ! यो कोटको दाँजोमा पुग्ने कुरा के गरी सम्झेका ? बडा जान्ने ! त्यस्ता–त्यस्ता १० वटा नयाँ कोट भएर पनि यसको अगाडि उभिरहन सक्ने होइनन् । खालि हिफाजतसाथ राख्न नसकेर पो त । पख, मैले जान्या छ, लखनउबाट फर्केपछि हेर्लाऊ ।”
अन्ततः बाबुसाहेबले लखनउबाट कोटको कायकल्प गराएरै ल्याए । लखनउमा एउटा समस्या के आइलागेको थियो भने, ‘ड्राई वासिङ’ गरी रफु भराउने हो भने कोट सफा गर्दा अझ झुत्रिने हो कि ? त्यसो भए त फेरि रफुमा धेरै पैसा पर्न जान्छ । फेरि रफु भराएर ड्राइ वासिङ गराउँदा कतै धस्क्यो भने अर्को आपत् । बडो होसियारीसाथ बाबुसाहेबले समस्या समाधान गरे । लखनउको कम्पनी पसलबाट कम्पनी नाउँ छापिएको प्लास्टिकको कागतमा कोटको प्याकिङ बनाई डेलिभरी दिएको खोल्दै नखोली बाबुसाहेबले त्यसै राखे । रफु भरेको गर्धनको कलर र ड्राइ वासिङ गरेर सफा भएको उसको रङ प्लास्टिकमा प्याकिङ भएर बाहिरैबाट देखा पथ्र्यो । उत्सुक भएकाहरूलाई त्यही देखाउँथे । प्याकिङ खोलेर धूलोमाटो किन पर्न दिनु ? अँ, लखनउबाट बाबुसाहेबले सारालाई कुनै न कुनै उपहार ल्याएका थिए । केटाकेटीहरूलाई लेमनजुस, सहयोगी केटीहरूलाई कपालमा लगाउने प्लास्टिकको च्याप्टो क्लिप, भान्छे बज्यैलाई सियोमा धागो हाल्ने अचम्मको मेसिन, आँखा चिम्लेर पनि धागो सियोमा नै पर्ने । रानीसाहेबलाई एक सिसी गुलबहार तेल । जम्मैमा तिन रुपियाँ प¥यो, साराका सारा खुशी थिए ।
माउजङ बाबुसाहेबले अब उत्कण्ठापूर्वक मन्त्रीजी आउने दिनको उद्विग्न प्रतीक्षा गर्न थाले । एक–एक गरी मुस्किलसाथ त्यो दिन पनि आयो । मन्त्रीज्यू बिहान ११ बजे नै आइपुग्नुभयो । साँझ ४ बजे उहाँको सम्मानमा आयोजित जलपान पार्टीमा बाबुसाहेबलाई पनि जानुपर्ने थियो । बिहानै दाह्री खौरन लगाई जुँगाको काटछाँट मिलाई नुहाई–धुवाई माउजङ बाबुसाहेब तयार भएर बसे । ठीक ३ बजे लगाउने दौरा सुरुवाल इत्यादि लगाई तमाखु खाँदै बसिरहे । साढे ३ बजे घरबाट निस्कने बखत प्लास्टिकको प्याकिङ खोली कोट झिकियो । कोट त्यही हो भनेर कसैले चिन्नै नसकिने भइसकेको थियो ।
आज उसको रवाफ नै अर्कै । उसको नयाँ जवानी फर्केको जस्तो । अलिकता पनि धक्का, दबाउ नपर्ने गरी सुसारेले बिस्तारै कोट बाबुसाहेबको आङमा लगाइदिई । आज त्यस सुसारेप्रति बाबुसाहेब कृतज्ञ नभई रहेनन् र यो नि त्यसै बखत सम्झे कि त्यत्तिकी पुरानी सहयोगी उनीकहाँ अब कोही पनि छैन । कति सेवा सुसार गरेकी छे यसले ! उसलाई बकस दिनुपर्ने एउटा तीव्र अनुभूति उद्वेगको उनले अनुभव गरे । तर, पकेटमा त्यस बखत पैसा थिएन । रानीसाहेबसित माग्दा अवश्यमेव उनले छैन नै भन्छिन् भन्ने डरले त्यस अति तीक्ष्ण, तात्कालिक, औदार्य अनुभूतिलाई क्लेशपूर्वक दमित गरे । वस्तुतः बडप्पनको मनस्थितिमा आज उनको जम्मै दुर्दान्त तन, बर्बरता, क्रोधी स्वभाव साराका सारा मानौं लोप हुन गएका थिए । उनमा एउटा माथिल्लो तहको मानवीय र क्षमाशील परिपालकको महत्ता उम्लेर आएको थियो ।
अत्यन्त निर्विकार, सहज मन लिएर बाबुसाहेब मन्त्रीज्यूको जलपान समारोह स्थलमा पुग्नेबित्तिकै साराका आँखा उनको कोटमा टाँस्सिए । विस्फारित नेत्रले सबै उनलाई हेरिरहे । अनि पछि एउटा दबेको मुस्कान सबैको ओठमा फक्रे पनि कोही बोलेनन् । बाबुसाहेबले पनि यस कुरोको लक्ष्य गरे तर आज उनले क्षोभ, क्रोध इत्यादि जस्ता कुराको कत्ति अनुभूति लिएनन् । आज उनी कुनै यस्तो माथिल्लो मानसिक स्तरमा गएका थिए, जहाँ आवेगहरू स्वयंमै लय, परिशान्त भएर जान्छन् ।
आयोजकले मन्त्रीज्यूसित माउजङ बाबुसाहेबको परिचय गरायो, अनि एउटा मञ्चमा बसाल्यो । अत्यन्त शिष्टता, नम्रतापूर्वक बाबुसाहेबले सारासित प्रसङ्गानुकूल कुराकानी गरे । क्रमशः चियापान समाप्त भयो । मन्त्रीज्यूसित बिदा भई एकेक गरी सबै निस्कन थाले । बाबुसाहेबले पनि मन्त्रीज्यूलाई नमस्ते गरी निस्कँदा उनको दुवै हत्केला अभ्यस्त तवरले कोटको दुवैतर्फको तल्लो जेबमा थिए । त्यत्तिकैमा एकजना स्थानीय राजनीतिक कार्यकर्ता पनि मन्त्रीज्यूसित बिदा भई निस्केर बाबुसाहेबको नजिकै पुग्यो । हत्केला जेबमा रहेको बाबुसाहेबको दाहिने पाखुरा र उनको ठाउँको माझबाट आफ्नो हात छिराई कुरा गर्दै बाबुसाहेबसँगै ऊ अगाडि बढ्यो । अरू बखत भएको भए बाबुसाहेबले कदाचित यस आत्मीयता जस्तो देखाउने मानिसको धृष्टता सहन सक्दैनथे । तर, आज बाबुसाहेब त्यो माउजङ बाबुसाहेब थिएनन्, बडो खुशीसाथ ऊसित कुरा गर्दै बढ्दै गए ।
त्यही बेला पछिल्तिरबाटै कुनै एउटाले बाबुसाहेबसँगै हिँडिरहेको मान्छेलाई बोलायो । त्यो मान्छे आफ्नो पाखुरा बाबुसाहेबको पाखुरामा अल्झाइरहेर पछिल्तिर फर्केको थियो । हत्केला जेबमा भएको बाबुसाहेबको हातमा अलिक झट्का पर्ने गरी उसले हात हटायो । यसो गर्नेबित्तिकै कोटको पकेटको कुनैदेखि लिएर तलको अन्तिम छेउसम्म ध्यार्र… गरी च्यात्तियो । सहस्रौं भूकम्प एकैचोटि गएको भयङ्कर सर्वनाशजस्तो आघातले बाबुसाहेबको मुटु हल्लायो । संसारै भत्केको जस्तो अनुभूति भयो । प्राणभित्रबाटै सातै वटा समुद्र उम्लेर आँखामा ओर्ले । तर… प्रलयको पीर कुन्नि कुन असीम तागतले थिचेर, अलिक अवाक जस्तो पनि नभई रिसको झझल्कोपर्यन्त आउन नदिई खालि ‘के भयो र ?’ मात्रै भनी आफ्नो बेपरवाहकै मुद्रास्थिर राख्न बाबुसाहेब समर्थ नै रहे ।
बाबुसाहेब बिस्तारै सहज गतिमा बाहिर आए र जिउबाट कोट झिकी बाहिर उभिरहेको आफ्नो मानिसलाई दिए । उनी आफ्नो बाटोमा चुप लागी गम्भीरतापूर्वक अगाडि बढे । अब खालि दौरा–सुरुवालमा मात्र रहेर पनि अलिक पनि उनको आँखा निहुरेको थिएन । शान्त र स्थिरतापूर्वक बाटो समाप्त गरी उनी जब आफ्नो घरको कोठामा आफ्नो निर्धारित आसननजिक पुगे, अनि थचक्क बसे । पछि–पछि सँगै आएको मानिसले उनको कोट त्यही पुरानो किलामा झुन्डाएर बाहिर निस्क्यो । झुन्डिएको कोट बाबुसाहेबले हेरिरहे । उनको आँखाअगाडि वाल्ल परेझैं त्यो च्यातिएको कोटको खल्तीले मानौं भित्री जिब्रो लप्लपाएर सोधिरहेको थियो, “यो के भो हँ ? अब के हुने हो ?” मूक भावले कुन्नि कहिलेसम्म त्यही च्यातिएको खल्तीलाई विस्फारित सुकेका आँखाले हेर्दै माउजङ बाबुसाहेब बसी नै रहे । केहीबेरपछि कदाचित् कोट च्यातिएको समाचार सुनेर रानीसाहेब पनि दगुर्दै पुगिन् । उनले नजिकै गएर कोट हेर्दै उनले सोधिन्, “यो के भयो ? कसरी यस्तो भयो ? हरे ! अब के हुन्छ ?”
यत्तिको ठूलो दुर्घटनामा पनि आफ्नै घरमा समेत आवेग शान्त माउजङ बाबुसाहेबले भने, “केही भएको छैन । बस । मन्त्रीज्यूसित भेटेर आएँ । राणाज्यूहरूको राज गयो ।”
– भवानी भिक्षु