अनलाइनमार्फत ठगी गर्ने युवती पक्राउ

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ १ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सप्तरी घर भई हाल ललितपुर बस्ने २० वर्षीया सुजता चौधरी रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनले विदेशी नागरिकका नाममा आइडी खाेलेर ठग्ने गरेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकमा एलेक्स बेन्जामनि नाम भएका प्रयोगकर्ताले पीडितलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गहनाहरू, मेकअपका सामानहरूसहितको लगेज पठाएको छु भनी सामानको फोटो समेत पठाउने गरेका थिए ।

त्यसपछि कुरिअरको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज पठाउने गरेको र डेलिभरीमार्फत काठमाडौंको एयरपोर्टमा सामान आइपुगेको छ भनी कस्टम चार्ज, डेलिभरी चार्ज र इन्सोरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नुपर्छ भनेर पीडितलाई विश्वास दिलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रहेको १ लाख ३५ हजार रुपैयाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।