कीर्ते कागजात पेश गरेर ८५ लाख ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं । कीर्ते कागजात पेश गरी ८५ लाख रुपौयँ ऋण लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–११ घर भई ललितपुर बस्दै आएका ३९ वर्षीय रबीन्द्र डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।डाँगीले ललितपुरको गोदावरी नगरपालिका–२ को सिट नम्बर ८ (ग) को कित्ता नम्बर ३४५ को १ रोपनी जग्गालाई अर्को महँगो स्थानको जग्गा भन्दै नक्कली कागजात पेश गरेर ८५लाख ऋण लिएको खुलेको छ ।
त्यसका लागि उनले नापी विभागदेखि वडा कार्यालयको सिफारिस समेत नक्कली बनाएर श्रीयन्त बचत तथा ऋण सहकारीमा पेश गरेर ८५ लाख रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ ।पक्राउ परेका डाँगीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।