कविता: मेरो आकाशको क्षितिजमा / भवानी घिमिरे

बन्दी हुनु अरूबाट
सार्थकताका लागि बन्दी हुनु
र आफूबाट बन्दी हुनु
दुई भिन्दाभिन्दै कोणबाट हेरेपछि
नजरहरू सबै बन्द गरिदेऊ
म कोलाहल कानले सुन्न सक्छु
नजरबन्दमा पनि अन्तर्दृष्टिहरू खुलेकै हुन्छन्
चिन्तनहरू सब तिखारिन्छन्— नजरबन्दमा
प्राप्तिका उत्सर्गहरू छन्
उत्सर्गको प्राप्ति अझ सुखद छन्
बाँच्नु आफ्ना लागि मात्र केबाँच्नु ?
बाँच्नु अरूका निम्ति जीवन महत्‌ हुन्छ ।
तिमीभित्र पनि एउटा मान्छेहुनुपर्छ

मान्छेको मन कहिले पो बन्दी हुन्छ ?
नजरबन्दमा नजरहरू बन्द होलान्
मनका झ्याल–ढोकाहरू अझ खुल्दछन्
मेरो आकाशको क्षितिजमा टाँसिएर
मेरो मन सिरहाको भूमिको फाँट–फाँट हेरिरहेछ
म सब थोक सुनिरहेछु—
तिम्रा कुकृत्यको कथा– मानिसको आर्तनाद र व्यथा
परिश्रम र कामले काला भएका सजीव मूर्तिहरूलाई
यन्त्रवत् चलाउन सकिन्छ— यस्तो भ्रम नहोस् तिमीलाई
परिश्रमका पुजारीहरूमा पनि चेतनाका किरणहरू प्रभासित भइरहेछन्

मैले तिनका लागि पूर्वबाट
एक टुक्रा सूर्य बोकेर ल्याएको थिएँ
सायद, त्यसैले तिमीले मलाई बन्दी बनायौ।

Comments are closed.