Trending Now

कविता: मैनबतीको शिखा

स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको
अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
ढलिरहेछ अश्रुधार ।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबतीको ।

 

भूपी शेरचन

Comments are closed.