कविता: समय घर्किरहेछ / दैवज्ञराज न्यौपाने

बालकहरूको मृदु रोदन
तरुणहरूको हँसाइ
अनि बूढा बूढीको सोचाइमा
अविरलताको गीत भर्दै भर्दै
जीवनका पलापला काटी
कयौं परिस्थितिका थकाइले
समय घर्किरहेछ।

२.
यहाँ रात जान्छ
बिहान हुन्छ,
भरदिनको दौडले
सन्ध्याको काख खुल्छ,
आज र भोलिका खापा खापामा
महिनाको नाम चल्छ,
हिउँद र वर्षाको आलोपालोमा
एकएक वर्षको खात बन्छ,
कयौं वर्ष र शताब्दीका पाइलाहरूले
युगौँतक
इतिहासका पानाहरू कोर्दै कोर्दै
समय घर्किरहेछ।

३.
यो नाट्य संसार,
यहाँ के छैन र?
झरी, बादल, घाम, पानी,
रिस, प्रेम, सुख, दु:ख,
तेरो र मेरो, हर्ष र बिस्मातको ममता,
उच र नीचको अहम्
समाज र कानूनको संसार
यहाँ सधैँको खोजी छ, डर छ
अनि हाँसो र रोदन छ,
यस्तै नै मृत्यु र जीवनको आलोपालोमा
संयोग र वियोगको जाल थापी थापी
समय घर्किरहेछ।

४. यो संसार हो
असारता यसको परिभाषा छ,
यहाँ विषमताको नग्ननृत्य नाचिरहेछ,
त्यसैमा पाउनेले खाइरहेछन् त
नपाउने चाहिँ हेरिरहेछन्
बोल्नेको पिठो बिक्छ त
नबोल्नेको चामल नै बिक्तैन,
रुने रोइरहेछ
हाँस्नेलाई हाँस्नैमा ठिक छ,
यहाँ कामदार अझै भोका छन्
तर बसाहाहरूले डकार्न छोडेका छैनन्,
यही असमानतामा नै
समय घर्किरहेछ।

५.
यहाँ कयौँ वादका नाराले
बकवाद मच्चाइरहेछ
विश्वबन्धुत्वको नाममा
आफ्नै भाइको बध भइरहेछ,
वर्णभेद र लिङ्गभेदको विषमता
अझै मौलिइरहेछ,
मानव धर्मको विशाल स्थलमा
विभिन्न धर्मको द्वन्द्वयुद्ध मच्चिइरहेछ
संयुक्त राष्ट्र संघको बैठकमा नै
ताकाताकको होड चल्छ,
पञ्चशील,
केवल सिलमा उनिएको छ,
असंलग्न राष्ट्रहरूको
शिखर सम्मेलन
दोधारमा अडिइरहेछ,
यस्तै परिहासमा
समय घर्किरहेछ ।