कविता : नेपाल / धरणीधर कोइराला

नेपाल तिम्रो मुहंडा हंसीलो
देखेर मर्छ कि यसै म मर्छु
चिन्ता यही चित्त सताउँदो छ
आशा निराशातिर धाउँदो छ ।

आमा भनी ढक्क फुलाइ छाती
सारा अरू देश नलागि जाती
सम्झेर घाएँ निज देश जाति
पाएँ पुरस्कार अनेक भाँति ।

सम्झेर धाएँ निज देश घाएँ
आनन्दमा चित्त निकै डुबाएँ
सेवा यथाशक्ति म गर्छ तिम्रो
भन्ने थियो चित्तविषे त मेरो ।

सारा दिशा खोजी हिडें सहारा
पाएँ न साथी न कहीं गुजारा
नेपाल तिम्रो महिमा अपार
सम्झन्छु गाऊँछु म बार बार

चाहन्छु तिम्रो महँडा उज्यालो
देखौं म भन्छु नगरी बियाँलो
चिन्ता विशाला बिच चित्त मेरो
नेपाल नेपाल जपेर तिम्रो
सेवा गरे के ? अब के गरौंला ?
सेवाबिना वा कसरी मरौंला ?
धिक्कार यो जन्म उसै गुमाएँ
नेपाल-सेवा गरनै न पाएं
व्यर्थै भयो जन्म भनेर रुन्छ
अत्यन्त यो व्यग्न बनी रहन्छ ।

नेपालको क्यै ममता भएका
नेपाल-सेवा मनमा लिएका
को को कहाँ छौं ? मन लौ मिलाओ
बेसी बियाँलो नगरेर आयो

नेपालको कीर्ति-फला बढाओ
नेपालको भक्ति मिलेर गाओ
आग्रोन आओ अब बेर नलाओ
नेपालको प्रेम मिलेर गाओ

नेपाल हाम्रो धनसम्पदा हो
नेपाल हाम्रो बलसम्पदा हो
नेपाल हाम्रो बुझ मानदा हो
नेपाल हाम्रो बुझ ज्ञानदा हो

नेपाल हाम्रो बुझ कामदा हो
नेपाल हाम्रो बुझ मोक्षदा हो
जसमा जती जे छ लिएर धाओ
नेपालका पाउविषे चढायो ।

 

धरणीधर कोइराला
स्पन्दन-बाट २००४