आमा, त्यो आउँछ र?
“हो, बा, त्यो आउँछ।
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ!
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि
बढ्ता छोइने भएर आउँछ।”
हो र आमा?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ!
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो!
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्योआउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन!
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन!
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ!
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ!”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा!
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
अब म उठेँ, गएँ।”
“तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो!”
………………………………………………………….
Trending Now
- निर्देशक तुलसी घिमिरे ‘पहाड’ फिल्मबाट कमब्याक गर्दै
- भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु
- शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न अखिल क्रान्तिकारीको माग
- प्रज्ञा पुस्तक प्रदर्शनी प्रारम्भ
- प्रज्ञा-प्रतिष्ठानको दुईदिने रैथाने ज्ञानउत्सव भरतपुर चितवनमा हुँदै !
- काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
- भावना खनालको ‘भाव सङ्गम’ सार्वजनिक
- पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ लोकार्पण
- नेकपा एमाले पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता
- The Signs of a Regional War in Middle East
Comments are closed.