कलाकार कुन्ती श्री थापाको एकल कला प्रदर्शनी

काठमाडौ । विकासको नाममा हुँदै गरेको विस्तारवादले उँचेको शहरी वस्ति गुम्न लागेका सम्पदा, सामाजिक धरोहरहरू अस्तव्यस्त विजुलिका तारहरु आदि लगाएत प्रकृतिको स्वन्दर्यलाई निल्दै डकार्दै बसेको आधुनिक समाजका भयावह स्वरुपलाई कलाकार कुन्ती श्री थापाले आफ्नो कलाको धर्सा रंगहरुमा उतारि एकल चित्रकला प्रदर्शन गरेकी छन्।

‘प्यारेलल एक्जिस्टेन्स’ शीर्षक दिइएको यो कला प्रदर्शनी ठमेल स्थित ‘दलाई ला आर्ट स्पेस’ मा भदौ १९ गतेदेखि सुरू भई निरन्तर चलिरहेको छ र आश्विन २३ गतेसम्म चलिरहने छ।

देशकै मुटु मानिने काठमाण्डौ शहर सम्भवत सबैको आकार्षणको केन्द्र, घुम्नेलाई रहरको शहर पनि हो। विभिन्न मठ, मन्दिर, चैव्य, गुम्बा जस्ता धार्मिक, सांस्कृितिक तथा प्राकृतिक सम्पदाहरुले सुसोजित यो शहरको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ तर बढ्दो जनसंख्या–जनघनत्वसँगै उकालिएको आधुनिकरणले यसको वास्तविक्तालाई कता हो कता ओझेलमा पारेको कुरालाई कलाकारले आफ्नो कला सृजना मार्फत देखाउन खाजेकी छिन्।

अस्तव्यस्त घरहरुले भवनको रुपमा विस्तारिएर गगन चुम्न खोज्दै प्राकृतिक सम्पदालाई निल्न खोजे पनि बेला-बेलामा डकारेको कुरालाई पेचिलो तवरमा घर-भवनको कौशी खेति तथा कोठा, बार्दलिमा सजावटका रुपमा प्रयोग हुने बोट-बुट्यानलाई इंकित गरि चित्रमा उतारेकी छिन्। कलाको सहायताले यो अनौठो परिवर्तनलाई अहिलेको समाजले रुचाउनु पर्ने वाध्यताको झलकलाई प्रष्ट पारेको बुझिन्छ।

यस्तै ठाउँ-ठाउँमा गुजिल्टेका, माकुराको जाल जस्तै फैलिएका, कतै झुण्डिएका तारहरुले शहरको अस्तव्यस्त अवस्थालाई चित्रको स्वरूपमा बयान गरेको हो कि जस्तो लाग्दछ। एक पछि अर्को धमाधम बढ्दै गएका अग्ला भवनहरुले विकासको नाममा भएको प्रतिस्पर्धा दौड र एक माथि अर्को खप्टिए झैँ बाङ्‌गा टिङ्‌गा तिनका स्वरूपले शहरी समाजमा व्याप्त तछाडमछाडको उग्र अवस्थालाई झल्काएको हो कि भन्ने भान हुन्छ। छाडा छोडिएका पशु खुल्ला पसलहरु, झुण्डिएका लुगाहरुले देशको राजनितिक, आर्थिक तथा समाजिक स्वरुपलाई प्रतिकात्मक रुपमा व्यंग्य गरेको देखिन्छ। व्यस्त सडक, मोटरगाडीहरुले शहरीकरणसँगको मानव जनजीवनको व्यस्ततालाई जाहेर गरेको बुझ्न सकिन्छ।

यसरी समग्रमा चित्रहरुलाई विभिन्न आकार स्वरूपमा हेर्दै जाँदा त्यो बिच आधुनिकरणको नाममा बचेका सम्पदा पनि धर्मरिएर आफूलाई बचाऊ बचाऊ भनि रहेकाछन् कि जस्तो, प्रकृतिले नि समय अनुरूप ढाँचा फेर्नु पर्दा असन्तुष्टि जनाएको हो कि जस्तो साथै मानव वस्ति भएर पनि मानवताले आफ्नो अस्तित्व प्रति प्रश्न चिन्ह राखे जस्तो अनगिन्ति भाव प्रटक गर्दै हेर्ने दर्शकलाई नै तिमि विषम परिस्थिति निम्त्याउदै छौ भनि खबरदारि गरी सावधान हुन आग्रह गरेको अनौठो संन्देशलाई बोध गर्न सकिन्छ। समाज परिवर्तनको नाममा हुने विभिन्न घटनाक्रमलाई, चित्रकलाको माध्यमबाट उजागर गर्न खोजेकोमा कलाकार सफल भएको देखिन्छ।

Comments are closed.