लगातार तीन दिन देखि हिउँ परिरहेको थियो । बाटाभरि हिउँका थुप्राहरूले स साना हिउँका पहाड बनेका थिए। घरका छतहरू, रूखहरू, बाटामा मान्छेहरू सारा सेताम्मे देखिन्थे ।क्रिसमसको समय भएकाले यहाँका घर घरमा रङ्गीचंगी बत्तीहरू बलिरहेका थिए। बत्तीहरूका कारण हिउँ अझ टल्किएको थियो। क्रिसमसका सजावटले सेता हिउँहरूलाई निकै आकर्षक बनाइदिएको थियो। हेरिरहुँ जस्तो।
मोनिकाको आँखामा एक किसिमको रोमाञ्चकता सजिलै देख्न सकिथ्यो। बाहिरको दृश्य यति रमणीय थियो कि ऊ घरि नाचूला जस्तो घरि उफ्रिम्लाजस्तो गर्दै थिई। नेपालबाट भर्खर एक महिना पहिले सुन्दर सहर टोरोन्टो आएकी उसले धीत मरुन्जेल आफ्नै आँखा आगाडि हिउँ देख्न पाएकी थिई। त्यो पनि रातको समयको झिलिमिली रङ्गीचंगी बत्तीहरूमा टिलिक्क टल्किएको सेतो हिउँ। सायद त्यसैले पनि यी दृश्यहरूले मोनिका रोमाञ्चित बनिरहेकी थिई। आफूभन्दा अलि पछाडि हिंडिरहेका आफ्ना दुई साथीहरुतिर फर्कदै बोली मोनिका, “आहा! कति सुन्दर दृश्य! मलाई त हात फिजारेर मस्तसंग नाचू नाचूजस्तो लाग्यो।”
“अहँ नाच्छेस नि हात फिजारेर? माइनस तीसको यो जाडोमा? झर्लान नि तेरा हात? अनि दस – दस घण्टा काम गर्दा थकाइ लागेको छैन महारानी ज्यूलाई?” ठूला ठूला आँखा पार्दै बोली दिव्या। यो मोनिकेको तालै यस्तै हो के? “कसैलाई के को पीर घर ज्वाईंलाई खानको पीर” भन्या जस्तो। “आफूँलाई यहाँ कहिले घर पुगेर थप्पक पल्टिन पाए हुन्थ्यो जस्तो भा छ यसलाई चाहिं नाच्न?” अलिकति झर्किदैं बोली सम्झना पनि पछाडिबाट।
दिव्या मोनिकाकै तँ तँ म म कि साथी थिई। उमेरले मोनिका भन्दा मात्र एक वर्ष जेठी भएपनि व्यवहारले मोनिका भन्दा अलि पाकी थिई दिव्या। दुईवटा छोरा छोरीकी आमा सम्झना भने अधबैंसे महिला थिई र उनीहरूले भन्दा अलि बढी भोटो फटाएकी थिई।
गाडीको बाटो सुनसान थियो। बाटो त के बाटो भन्नु थियो र? कालोपत्रे सडक त सबै हिउँले पुरिएर सम्म परेका बारीजस्तो बनेको थियो बाटो। तरपनि गाडी जसोतसो चलेकै थिए। केही कम गतिमा आवश्यक भएका मात्र।
सम्झनाले यसो घडीतिर आँखा दौडाई। बेलुकीको बाह्र बजेको रहेछ।” जब भित्र काम गर्न थालिन्छ समयको त अत्तोपत्तो नहुने। कत्ति चाडै बाह्र बजेछ थाहा नै भएनछ।” के गर्नु क्रिसमसको बेला सुपरभाइजरले दिएको जति काम पनि भ्याउनै पर्ने। आफ्ना पाइला अघि सार्दै बोल्दै थिई सम्झना। “के गर्नु त सम्झना जति समय लाग्छ लगाओ तर यति काम भ्याएर मात्र जानू भनेर सुपरभाइजरले भने पछि के गर्नु र ? फेरि हाम्रो काम दस बजे नै सकिने हो भनेर कसरी भन्नूं? यिनीहरूको त्यत्रो असारे पन्ध्रजस्तो भ्याई नभ्याई देखि देखि कसको तागत आओस भन्न पनि ? दिव्याले सम्झनातर्फ हेर्दै उसको गनगनलाई केही सामसुम पार्ने उदेश्यले बोली ।
कामबाट घर पुग्न त्यति टाढा त होइन पैदल हिंडेर यस्तै पैतालिस मिनेटको जति बाटो थियो। तर थाकेर लखतरान परेको शरीर त्यो हिउँको सिरेटोमा अनि रातको समयमा हिंडेर जानु पनि त सहज थिएन। दस बजेसम्म मात्र हो सार्वजनिक बस पाइने आज त यति बेला के आशा रहयो र? पछि पछि हिंडिरहेकी सम्झना एक्लै भुतभुताउँदै थिई ।
हामी मध्ये कसैको आफ्नै गाडी भइदिएको भए पनि हुने नि है? मलिनो मुख बनाएर सम्झनाले दिव्यातिर हेर्दै भनी। हो त नि ? के गर्नु हामी सबै नयाँ परियो। यहाँ आएको नै कति भयो र? दुई चार महिना त हो नि? आफैले गाडी नचलाउने हो भनी त सार्है दुख पाइदो रहेछ यो सहरमा? कहिले होला है हामीले टोरोन्टो सहरको चिल्ला सडकमा सरर कार गुडाएर हिंड्ने ? सम्झना आफ्ना व्यथा पोख्दै थिई।
चलाइन्छ हो गाडी छिट्टै नै । के पीर गर्या छौं केटी हो ? बढो फुर्तिको भाषामा अगाडि हिंडिरहेकी मोनिका बोली।
हिउँ परि नै रहेको थियो। दिउँसोको समयमा त बेला बेलामा हिउँ फालिरहन्थे घरधनीहरू । बाटो हिंडन पनि केही सहज हुन्थ्यो। तर रातको समय हिउँ माथि हिउँ थुप्रिएको थियो। हिंडन एकदमै असहज भइरहेको थियो। त्यसमाथि हात खुट्टै झर्लाजस्तो ठिहिर्याउने खालको थियो चिसो। तरपनि गन्तव्यमा पुग्नु नै पर्ने थियो । त्यसैले उनीहरू निरन्तर हिंडिरहेका थिए।
हिउँको थुप्रो नजिकैबाट एउटा गाडी उनीहरुकै अगाडि आएर रोकियो। गाडीको इमर्जेन्सी बत्ती बलिरहेको थियो। उनीहरूले वास्ता गरेनन। सोचें त्यो अन्जान सहरमा कोहि होला। जब रोकिएको गाडीलाई केहि वास्ता नगरी आफ्ना पाइलाहरू सरासर अगाडि बढाउन खोजेका थिए गाडीभित्रबाट आएको एक महिलाको ’आउनुहोस भित्र ’ भन्ने आवाजले उनीहरू झसंग भए। टक्क अडिए ।
उनीहरूलाई लाग्यो को होला यो आवाज? फेरि नेपाली । गाडीभित्र आउन अक्क्मकाएको देखेर भित्रबाटै आवाज आयो । आउनुस न हो छिटो फेरि मर्नु होला के चिसोले। अब भने उनीहरूको संकोचले डाँडा काटिसकेको थियो। सरासर गाडीमा पसे र अन्दाजी पन्ध्र मिनेटकै सेरोफेरोमा आइपुगे आ– आफ्ना बासस्थान तर्फ ।
गाडीमै हुँदा चिनजान भयो । उनीहरूले नै काम गर्ने सुपरमार्केटमा फलफूल र तरकारी फाटमा काम गर्दीरहिछ ऊ। ऊ त्यो फाँटको सुपरभाइजर पनि रहिछे । उनीहरू अलि नयाँ भएकाले उसंग चिनजान नभएको रहेछ। ऊ अर्थात शिवानी उनीहरू बस्ने अपार्टमेन्टकै दसौं तलामा बस्दिरहिछ ।
अर्को एकदिन घरबाट दिव्या काममा आउंदै थिई। तल्लो तलाको फलफूलको फाँटमा शिवानीलाई म्यानेजरसंग निर्धक्कसंग आँखा जुधाएर गफ गरिरहेको देखी । यो कुरा दिव्यालाई नौलो लाग्यो।दिव्या नेपालबाट आएको धेरै भएको थिएन र उसको अंग्रेजी पनि त्यति राम्रो थिएन। ऊ आफ्नो म्यानेजरसंग बोल्नु पर्दा थरथर काम्थी। फेरि उसलाई नेपालमा आफ्ना हाकिमसंग त्यसरी आँखा जुधाएर बोल्न हुन्छ भनेर पनि त सिकाइएको थिएन। मन मनै सोची कति निडर है शिवानी म पनि त्यस्तै बन्न पाए पो !
शिवानी हेर्दै निडर र आटिली देखिन्थी । उसको बोल्ने शैली , व्यहवार र हाउभाउले नै थाहा पाउन सकिन्थ्यो कि ऊ एक जुझारु महिला हो । जो आम नेपाली महिलाहरू भन्दा फरक छ। उसको पहिरन, निडरता र साहस देखेर जो कोही पनि छक्क पर्थे । र भन्थे महिला हुनु त शिवानी जस्तो।
शिवानी आँटिली थिई नै मिहिनेती पनि त्यतिकै थिई। ऊ दिनरात काम गर्थी। भोक, तीर्खा गर्मी, हिउँ कहल्यै नभनी हप्ताको साठी सत्तरी घण्टा काम गर्नु उसको लागि सामान्य जस्तै थियो। उसको उर्जा र जाँगर देखेर जो कोहीलाई पनि इर्ष्या लाग्ने गर्थ्यो ।
एकदिन दिव्या र शिवानीको अचनाक भेट भयो । उनीहरूकै अपार्टमेन्टको लबीनेर। शिवानीले दिव्यालाई आफ्नोमा चिया खान जाने प्रस्ताव गरी। शिवानीको प्रस्तावलाई स्वीकार्दै दिव्या उसको पछि पछि उसको कोठातिर गई ।
अपार्टमेन्टमै बस्ने भए पनि शिवानी निकै शानका साथ बसेकी रहिछ। लेदरको ठूलो सोफा, चट्ट सुहाएको नीलो रङ्गको गलैचा।त्यसमाथि सिसाको टेबल। स्यामसुङ्ग कम्पनीको ठूलो टेलिभिजन। भित्तामा निकै आकर्षक तस्वीरहरू।
कस्तो राम्रो हजुरको कोठा त ?
दिव्या बोली ! राम्रो लाग्यो धन्यवाद। बोली शिवानी ।
शिवानीले दुई कप चिया बनाएर ल्याई। कति मीठो चिया पकाउनु भएको? चियाको सुर्पी लिदै बोली दिव्या।
रङ्ग, दूध,मिलेको अनि चिया मसला हालेर पकाएको चिया वास्तवमै मीठो थियो ।
मीठो चियाको सुर्की र त्यसमाथि मीठा मीठा कुरा थपिदै थिए। अचानक दिव्याको नजर एउटा ठूलो फोटो माथि पर्यो ।
फोटो लोग्ने मान्छेको थियो। आन्दाजी पैतिस चालीस वर्ष जतिको उमेरको थियो होला सायद। दिव्याको ध्यान त्यो फोटोतर्फ घरि घरि परिरह्यो।फोटो दिव्याले बारम्बार हेर्नुको पनि कारण थियो ।त्यो के भने फोटोमा माला पहिराइएको थियो।
तर ऊ शिवानीसंग भने आफ्नो नजर सकभर लुकाउन चाहन्थी ।
फोटो निकै आकर्षक थियो। अहिले नै बोल्ला जस्तो ।
कुराकानी हुँदैं थियो दिव्याको नजर अर्को युगल फोटोमा पनि पर्यो। जुन फोटोमा सामेल थिई शिवानी पनि। फोटोमा उनीहरूको जोडी निकै उत्कृष्ट देखिन्थ्यो। दिव्यालाई के गर्नु न गर्नु भयो । के बोलू ? के नबोलूको स्थितिमा बसिरहेकी थिई दिव्या ।
उसले लुकाउन त खोजेकी त थिई । तर शिवानीले यो कुरा थाहा पाईहाली ।
निकै सहज हुँदै शिवानी बोली । यो उहाँको फोटो हो ।
उहाँले छोडी जानुभएको पनि दस वर्ष भएछ। एकैछिन अघिसम्म चहकिलो अनुहारमा एकाएक बादल प्रस्ट छाएको देखिन्थ्यो। दस वर्ष अगाडिको नदेखिने घाउ मुटुको कुनातिरबाट फेरि बल्झियो नमीठो गरेर। त्यो आँखासम्म आइपुग्यो र बग्यो आँसु बनेर ।
उसले देखाउन नखोज्दा नखोज्दै, सुनाउन नखोज्दा नखोज्दै पनि स्वतस्फूर्त निस्किए केही विछोडका, केही पीडाका केही संघर्षका कुराहरू मुखबाट ।
वास्तवमा मानिसलाई साहसी त परिस्थितिले बनाउदो रहेछ । शिवानी बाहिर हेर्दा जति साहसी र कठोर देखिन्थी त्यति नै भित्र कोमल थिई। एकछिन त दिव्यालाई पनि नमज्जा लाग्यो किन कोटयाएछु पुरानो घाउ। साहसी शिवानीको यो कस्तो कमजोर अवस्था हेर्नु पर्यो ? थक थक मानी रही ऊ ।
तर एकैछिनमा माहोल उस्तै देखियो। शिवानी सामान्य भइसकेकी थिई। हुनत सधैं रोएर बसिरहने सुबिधा पनि त थिएन उसलाई।आफ्ना छोराको बुबा र आमा दुवै बनेकी थिई ऊ । उसले वीचैमा खुट्टा कमाएकी भए ऊ कहाँ आजकी शिवानी बन्न सक्थी होली र ?
दस वर्ष भयो उहाँले हामीलाई छोडेर जानुभएको फेरि कुराकानीलाई जोड्दै बोली शिवानी ।
हामीलाई?
बोली हाली दिव्या ।
हो म र मेरो छोरालाई ।
शिवानीले छोटो उत्तर दिई। हजुरको छोरा पनि छन? फेरि प्रतिप्रश्न गरी दिव्याले ।
छ नि, ऊ अहिले विश्वविद्यालयमा पढ्छ । ऊ अहिले बाइस वर्षको भयो। उसले अहिले टोरोन्टो विश्वविद्यालयमा इन्फर्मेंसन टेक्नोलोजीमा व्याचलरको पढाई सक्न आटेको छ। निकै गर्विलो पाराले शिवानी आफ्नो छोराको बारेमा बताई। ।शिवानीको हाउभाउ, छोराको बारेमा उसले भनिरहदा उसको अनुहारको रङ्गले नै प्रष्ट पार्थ्यो कि उसको छोरा उसको जीवनको विशेष मान्छे हो। उसको सपना, उसको संघर्ष सम्पूर्ण हो उसको छोरा ।
शिवानीको फोनमा घन्टी बज्यो। घन्टी लगातार बजि नै रहयो। र उठाइ। उताबाट लोग्ने मान्छेको आवाज सुनियो फोनमा। यताबाट शिवानी ए हो कस्तो खुसीको खबर भन्दै निकै उत्साहित हुँदै बोल्दै थिई । फोनमा कुरा गर्दा गर्दै शिवानीको अनुहारको रङ्ग खुसीले विस्तारै फेरिदै गयो ।
उसको अनुहारमा खुसी छाएको बाहिरबाटै प्रष्ट देखिन्थ्यो। उसको आँखाबाट आँसुका ढिका बगिरहेका थिए एकनासले। बोल्न सकिरहेकी थिइन। गला अबरुद्द थियो। त्यै पनि रोकिदै रोकिदै भन्दै थिइ बधाई छ छोरा! बधाई छ प्रतिष्ठित कम्पनीमा जागिर पाएकोमा। खुसी छु म मेरो त्याग र समर्पणलाई तिमीले सफल बनाइदिएकोमा ।
अझै आँसु झरिरहेका थिए आँखाबाट जसले उसलाई बोल्न गाह्रो भइरहेको थियो। सायद त्यसैले पनि होला उसले बिस्तारै फोन राखिदिइ। तर भिजिरहे परेलीहरू। सुक सुक गरि रही उ धेरै बेरसम्म।
आँसु उही ! तर परिस्थिति फरक ! एकछिन अगाडिको उसको आँसु र अहिलेको आँसुमा आकाश र जमिनको फरक थियो। बग्न त पानी नै बगिरहेको थियो । तर भाव विल्कुल फरक थियो।
वास्तवमा आँसु बग्ने त आँखाबाट नै हो रहेछ मान्छेको । तर आँसुको पनि रुप बेग्लै हुँदो रहेछ। सुखमा पनि झरिदिदो रहेछ त्यो बेस्सरी! हर्षका आँसु बनेर । दुखमा पनि बर्सिदो रहेछ विलौना गरेर।आँसु सुख र दुख जतिबेला पनि अनायासै झरिदिदो रहेछ वेपर्वाह । सायद आँसु मान्छेको जीवनको एउटा महत्त्वपूर्ण पाटो हो रहेछ जुनबिना जीवन रित्तो– रित्तो बन्दोरहेछ। जीवन भनेको पनि सुख दुखको चौतारीजस्तै रहेछ।मानिसको जीवनमा कहिले सुख कहिले दुख त आउँदो रहेछ। मात्र पर्दो रहेछ पर्खिन। चाहिदो रहेछ शक्त्ति सहनलाई दुःख । दिव्याले वाल्ल परेर शिवानीलाई हेरिमात्र रहि केही बोलिन ।
विष्णु पगेनी सिग्देल
एटलान्टा जर्जिया ।