भारतको एक गाउँमा सबै मानिसहरू खाली खुट्टा बस्छन्, कोही जुत्ता लगाउँदैनन्। बाहिर जानु परे पनि खाली खुट्टा नै जान्छन्। आजको युगमा यो कल्पना गर्न गाह्रो छ।
यति मात्र होइन, परिवारमा कोही बिरामी परेमा मानिस अस्पताल जान मान्दैनन्। कुनै हालतमा कतै बाहिर जानुपर्यो वा आफन्तको घरमा जानुपर्यो भने यी मानिसहरू बाहिरको खाना खाँदैनन्, पानीसमेत पिउँदैनन्।
पत्याउन गाह्रो होला तर यस्तै एउटा गाउँ आन्ध्र प्रदेशको तिरुपतिबाट ५० किलोमिटर टाढा रहेको छ। गाउँको नाम वेमन इन्ड्लु हो।
पुरानो संस्कृतिको अनुशरण
ग्राम पञ्चायत प्रमुख इराब्बा गाउँ आउँदा जुत्ता गाउँबाहिर फुकाल्नुपर्ने बताउँछन्। आफ्नो जाति यस गाउँमा बसोबास गरेदेखि नै यो चलन चल्दै आएको प्रमुख इराब्बाले बताए।
उनले बिबिसी तेलुगुलाई भने, ‘हामी बाहिर जाँदा नुहाएर मात्रै घरभित्र पस्छौँ र खाना खान्छौँ। म धेरैपटक गाउँ बाहिर गएको छु। एकपटक अदालतको कामका लागि मलाई पाँच दिनको लागि गाउँबाट बाहिर थिएँ। मैले त्यसबेला बाहिरको खाना पनि छुइनँ।’
इराब्बा बताउँछन्, ‘म ४७ वर्षदेखि अदालतको काममा बाहिर जाने गरेको छु। तर, मैले कहिल्यै बाहिरको पानी पनि पिइनँ।’
‘गाउँमा कोही जुत्ता लगाउँदैनन्’
यो ठाउँ आन्ध्र प्रदेशको तिरुपति जिल्लाको पाकला मण्डलको एउटा गाउँ हो। यहाँ ८० जनाका २५ घरहरू छन्। यस गाउँमा जम्मा ५२ मतदाता छन्। तीमध्ये थोरैले मात्र स्नातक पूरा गरेका छन्। यहाँका मानिसहरू धेरै शिक्षित छैनन् र कृषिमा निर्भर छन्।
तर, यो गाउँका मानिसहरूलाई भेट्न आउने आफ्ना आफन्तले पनि चलन पालना गर्नुपर्ने कुरा रोचक छ। गाउँमा आएका आफन्त महेशले यही गाउँमा बहिनीको बिहे भएको बताए। महेशले भने, ‘यो गाउँका सबै मेरा आफन्त हुन्। गाउँमा आउँदा चलनअनुसार चल्छौँ।’
महेश बताउँछन्, ‘हामी गाउँबाहिर जुत्ता फुकाल्छौँ, कुनै घरमा पस्दा पहिले नुहाउनुपर्छ।’ यस गाउँका साक्षर मानिसहरूले पनि चलन पालन गर्छन्। यस गाउँका मानिसहरू आफूलाई पलवेकरी जातको मान्छन्।
तिनीहरूलाई आन्ध्र प्रदेशमा पिछडिएको वर्गको रूपमा वर्गीकृत गरिएको छ। यस गाउँका सबै मानिस एउटै कुलका हुन्। आफ्नै जात भित्रसँग सम्बन्ध राख्छन्।
मानिस बिरामी हुँदा अस्पताल जाँदैनन्
गाउँका मानिसहरूले पुरातन मन्दिरमा पूजापाठ र अनुष्ठान गर्छन्। गाउँमा नरसिम्हा स्वामी र गंगामाको पूजा पनि गर्छन्। ‘भगवानले सबैको ख्याल गर्नुहुन्छ’ भन्ने विश्वासले यहाँका गाउँलेहरू अस्पताल जान मान्दैनन्।
‘हामीलाई सर्पले टोके पनि भगवानले नै निको बनाइदिनुहुन्छ भन्ने विश्वास गर्छौं। हामी कुनै अस्पताल जाँदैनौँ। हामी सर्पको पहाडको परिक्रमा गर्छौं। नीमको रूखको परिक्रमा गर्छौं। अस्पताल जानु पर्दैन’, उनले भने, ‘प्रमुख इराब्बा बताउँछन्, ‘हाम्रो भगवानले हाम्रो हेरचाह गर्नुहुन्छ, हामी बिरामी हुँदा मन्दिरको परिक्रमा गर्छौं। दुई दिन यसो गर्दा हामी फेरि स्वस्थ हुन्छौं। यो हाम्रो परम्परा हो।’
विद्यालय जाने गाउँका बालबालिका पनि जुत्ता नलगाएर विद्यालयमा जान्छन्। विद्यादलयमा दिने ‘मिड डे मिल’ खाँदैनन्। बाहिर कसैलाई छोएमा नुहाएर मात्रै घरभित्र पस्छन्। नजिकैको गाउँकी महिला भाविता भन्छिन्, यस गाउँका मानिसहरूले गर्भवती महिलालाई अस्पताल लैजाँदैनन्। उसको घरमा सबै कुरा हुन्छ।’
भाविताले भनिन्, ‘विद्यालय जाने बालबालिकाले त्यहाँ दिइएको दिवा खाजा खान पाउँदैनन्, खाना खान घर आउँछन्, खान्छन र विद्यालय जान्छन्।’
दलितलाई प्रवेश निषेध
यस गाउँमा दलित समुदायका मानिसलाई प्रवेश निषेध गरिएको छ। गाउँका जनता दलित समुदायका मानिससँग बोल्दैनन्।
महिनावारी हुँदा महिलाहरू गाउँबाहिर बस्नुपर्छ। गाउँका मानिसहरू पनि मिडियाबाट टाढा छन्। स्थानीय एक व्यक्ति भन्छन्, ‘दलित जातिलाई गाउँमा पस्न दिइँदैन। न त उनीहरूसँग कुरा गर्छन्, न छुन्छन्।’