रोल्पाको दुर्गम बस्ती कुर्जामा अस्थायी प्रहरी पोस्ट स्थापना

रोल्पा । रोल्पाको दुर्गम बस्ती मानिने कुर्जा भन्ने ठाँउमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ। शनिबार एक कार्यक्रमकाबीच रुन्टिगढि गाउँपालिकाको वडा नम्बर ८ को विकट गाउँ कुर्जामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।
स्थानीयले माग गरेको निकै लामो समयपछि दुर्गम गाउँमा प्रहरी पोस्ट स्थापना हुदा स्थानीयहरु खुशी समेत भएका छन् । अस्थायी प्रहरी पोस्ट उद्घाटन गर्दै रोल्पाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले ग्रामीण बस्तीमा प्रहरी पोस्ट स्थापना भए संगै नागरिकको शान्ति शुरक्षामा सहयोग पुग्ने र समाजमा हुने विभिन्न गैरकानुनी क्रियाकलापहरु बन्द हुने बताए ।
कार्यक्रमका अर्का अतिथि रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले प्रहरी पोस्ट स्थापना भएसंगै गाउँ बस्तीमा प्रहरीको सक्रियता बढ्ने र आम नागरिकलाइ शान्ति शुरक्षाको अनुभूति हुने बताए ।
छिमेकी जिल्ला दाङ र सल्यान संग सिमाना जोडिएको सो ठाँउमा शान्ति शुरक्षाको अभाव भएको र प्रहरी निकाय धेरै टाढा भएको भन्दै स्थानीयहरुले लामो समय देखि प्रहरी चौकिको माग गरेपछि गाउँ पालिकाको पहलमा जिल्ला प्रहरी कार्यालय रोल्पा र जिल्ला प्रशासन कार्यालय रोल्पाको सहयोगमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको हो । रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले पोस्ट उद्घाटन गर्दै स्थानीय सरकार प्रहरी संग हातेमालो गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अस्थायी प्रहरी पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जना प्रहरी कर्मचारीहरुको संख्या रहने बताइएको छ।जिल्ला स्थित सशस्त्र प्रहरी बल प्रमुख डिएसपी बिष्णु अबस्थी तथा राष्ट्रिय अनुसन्धान प्रमुख सहभागी रहेको कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा आम नागरिकहरुले प्रहरी पोस्ट स्थापनाको प्रसंशा गर्दै प्रहरीहरुलाई स्वागत गरेका थिए ।