Trending Now

सुप्रसिद्ध कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

काठमाडौं । साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसंगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी आज सार्वजनिक गरेको छ । सो सीडीको आज थाहा पुस्तकालयमा भूपी शेरचनको ८८ औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कवि गीतकार एवम् पूर्वमन्त्री शंकर कोइराला, कवि भूपी शेरचनकी धर्मपत्नी कान्ति शेरचन, साहित्यकारहरू अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ,  साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकाली र म्यूजिक नेपालका प्रमुख सन्तोष शर्माले लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले भूपीकै कविता पढेर आफू र आफ्नो पुस्ताले कविता र गीत लेख्न थालेको स्मरण गर्नुभयो । उहाँले भूपीका सरल कवितामा गहन भाव पाइने हुनाले ती सधैं लोकप्रिय रहेको बताउनुभयो । नाटककार एवम् कवि अशेष मल्लले काठमाडौंमा छात्रको  रूपमा रहेका युवा पुस्ताका लेखकहरूले कविद्वय भूपी शेरचन र वासुशशीबाट प्राप्त स्नेह, सहयोग र प्रेरणाको चर्चा गर्नुभयो । अर्का कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले भूपी शेरचनसंग संघको प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै उहाँकै स्वरमा वाचन गरिएका कविता खोजेर सीडीको रूपमा ल्याउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

कवि एवम् समालोचक प्रमोद प्रधानले भूपीलाई छाडेर नेपाली कविताको इतिहास लेख्नै नसकिने तथ्यमाथि प्रकाश पार्दै पछिल्लो पुस्ताका कविहरूमा सबैभन्दा बढी प्रभाव भूपीकै रहेको बताउनु भयो । साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले भूपीको प्रतिमा स्थापनासहित भूपीसम्बद्ध अन्य काम गर्ने संघको योजनाबारे जानकारी दिनुभयो । म्यूजिक नेपालका सन्तोष शर्माले आगामी दिनमा पनि साहित्यको प्रवर्द्धनका लागि संघसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व सभापति नरेन्द्रबहादुर श्रेष्ठ र कवि भूपीकि धर्मपत्नी कान्ति शेरचनले पनि बोल्नुभएको थियो । श्रद्देय कवि भूपीप्रति काव्यिक श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले म्युजिक नेपालद्वारा साहित्यिक पत्रकार संघको सहकार्यमा तयार गरिएको “काव्यान्जली”मा कवि भूपी शेरचनद्वारा रचना गरिएका ११ ओटा कविताहरुलाई समलालिन नेपाली साहित्यको कविता विधामा स्थापित १२ जना कविहरुद्वारा वाचन गरेर तयार गरिएको “काव्यान्जली” श्रद्देय कविको ८८ औं जन्मजयन्तीको शुभअवसरमा म्युजिक नेपालको ४० औं तथा साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसरमा उत्पादन गरिएको हो । यस एल्बममा कविहरु तुलसी दिवसले – हामी,  कृष्णभूषण बलले – यो मेरो …, नरेन्द्रबहादुर श्रेष्ठले – म, विश्वविमोहन श्रेष्ठले – मैनबत्तीको शीखा, अशेष मल्लले – हल्लै हल्लाको देश, राधेश्याम लेकालीले – सर्पको खोजीमा, नवराज कार्कीले – घुम्ने मेचमाथि अन्धो मान्छे, कोमल वलीले – प्रजातन्त्र दिवस, सीता पाण्डेले – हल्लै हल्लाको देश, मोमिला जोशीले – सिता, बाबा बस्नेत – मर्दैछ र सन्ध्या पहाडी – पहिरो जाने पहाड मुन्तिर कविता वाचन गरेका छन् । नेपाली वाङ्मयका अमर साधक मूर्धन्य कवि भूपी शेरचनको ८८ औं जन्मजयन्तीक अवसरमा म्युजिक नेपालले उत्पादन गरेको “काव्यान्जली”को साहित्यिक पत्रकार संघले आज २०७९ पुस १० गते थाहा पुस्तकालय, काठमाडौँमा लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो । वि. स. २०५८ सालमा रेकर्ड गरिएको “काव्यान्जली”आज आएर मात्र सीडी निकालिएको छ ।

Comments are closed.