‘रूटिन अफ नेपाल बन्द’ कतिमा हायर गर्नुभयो ?बालेनलाई आरजु राणाको प्रश्न :

काठमाडौं , नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री पत्नी आरजु राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रूटिन अफ नेपाल बन्द प्रयोग गरेर चुनाव जितेको टिप्पणी गरेकी छन्।

सोमबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा न एउटा गुण पहिचान गरी नेता बनेका हुन्, बालेन साहको रूटिन अफ नेपाल बन्दको प्रयोग गरे। म अहिले खुलेर त भन्न चाहन्न तर उहाँले कतिमा हायर गर्नुभयो? उहाँले त्यसैलाई परिचालन गर्नुभयो।’

‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमा ३३ लाख बढी फलोअर्स छन्।

उनले आफूहरुले लोकतन्त्रलाई विश्वास गर्ने दाबी गर्दै पार्टीका मान्छेहरुले नै देश चलाउने जिकिर गरिन्। उनले पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेप्रति पनि व्यंग्य गरेकी छन्।

‘अहिले स्वतन्त्र उम्मेदवारी दिनेको लहर चलेको छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीतिमा आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा’ उनले भनिन्, ‘देशलाई बचाएर राख्ने हो भने पार्टी सिद्धान्तलाई नै कायम राख्नुपर्छ।’