काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्को अवहेलना गरेको भन्दै कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुभएको छ ।
सदनमा गृहमन्त्री लामिछानेले सत्यतथ्य नबोलेको भन्दै संसद्को अवहेलनामा कारबाही गर्न उहाँले माग गर्नुभएको हो । प्रतिनिधिसभाको रोस्ट्रमबाट तथ्यहीन, आधारहीन कुरा गरेर सांसदहरूमाथि नै मानमर्दन गर्न खोजेको र नागरिकलाई भ्रममा पार्न खोजेको गुरुङले दाबी गर्नुभएको छ ।
‘अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकमा भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु,’ सभामुखलाई लेखिएको पत्रमा उल्लेख छ ।
देशको गृहमन्त्रीले अनैतिक रूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको गुरुङको दाबी छ । गृहमन्त्रीले संसद्मा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र लामिछानेको अभिव्यक्ति प्रतिनिधिसभा नियमावलीविपरीत भएको भन्दै संसद्को अवेहलनामा कारबाही गर्नुपर्ने पत्रमार्फत माग गरिएको छ । ‘बोलेका कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ पत्रमा छ ।
गुरुङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि पनि संलग्न गरेको पनि पत्रमा खुलाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुका विषयमा पनि आमसञ्चारमाध्यममा विभिन्न समाचार प्रकाशित भएको भन्दै यी विषयमा पनि संसदीय छानबिन समिति बनाउने हो ? भन्दै प्रश्न गर्नुभएको थियो । लामिछानेले रातो पासपोर्ट दुरुपयोग, त्रिचन्द्र क्याम्पसमा बगैंचा निर्माणमा भ्रष्टाचार भएको, कृषि कार्यका लागि अनुदान लिएर अपचलन गरेकोलगायत आरोप कांग्रेसका सांसदमाथि लागेको दाबी गर्नुभएको थियो ।