म्यानमारकी नेतृ आङ सान सूचीको सजाय फेरि थपियो

काठमाडौँ — म्यान्मारको अदालतले नेतृ आङ सान सूचीलाई थप सात वर्षकोे जेल सजाय सुनाएको छ । गैरकानुनी रूपमा वाकीटकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ ।

सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि ७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई हिरासतमा राख्दै आएको छ । यसले म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ ।

उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले राष्ट्रव्यापी निर्वाचन जिते पनि म्यानमारको सैन्य सरकारले चुनावमा धाँधली गरेको लगायतका थुप्रै मुद्दा लगाएर उनलाई बन्दी बनाएको छ ।

गत शुक्रबार सैनिक सरकारको पूर्ण नियन्त्रण रहेको एक अदालतले सूचीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको थियो, जुन गैरकानुनी रूपमा वाकीटकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

सूचीलाई विभिन्न मुद्दामा दोषी ठहर गर्दै बारम्बार कारागार अवधि थपिँदै आएको छ । यसअघि पनि उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै  अदालतले ३ वर्षको सजाय थपेको थियो ।

१९४८ मा म्यानमारलाई उपनिवेशबाट स्वतन्त्र बनाउने आन्दोलनको अगुवाइ गरेका आङ सानकी छोरी समेत रहेकी आङ सान सूची सन् १९९१ मा हिरासतमा रहँदा नै नोबेल शान्ति पुरस्कारबाट सम्मानित पनि भएकी थिइन् ।

एजेन्सी

Comments are closed.