‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 

 

काठमाडौँ — गीतकार संघ नेपालले यस वर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७८’ अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै थापासहित गीतकार मानबहादुर दोङ तामाङ र गीता खत्रीलाई पनि क्रमश: ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान–२०७८’ र ‘डायस्पोरा गीतकार सम्मान–२०७८’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राशी क्रमश: १ लाख ५१ हजार, २५ हजार २ सय बाउन्न र १५ हजार रुपैयाँ रहेको छ ।

विज्ञप्तिअनुसार नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा बिर्तामोड निवासी थापालाई जेठ १४ गते संघको स्थापना दिवसका अवसरमा ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिनेछ । त्यस्तै तामाङ भाषा गीत सिंर्जनामा योगदान पुराए बापत रामेछाप निवासी गीतकार तामाङलाई नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । विदेशमा बसेर नेपाली गीत लेखनमा योगदान पुराएकाले हाल अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएकी गीतकार खत्रीलाई पनि संघले नगदसहित प्रमाण पत्र प्रदान गर्नेछ ।

संघले संस्थामा आबद्ध सदस्यहरुले वि.सं २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रूपमा दर्ता भएका गीति पुस्तकहरु र गीतहरुलाई विशेष समितिले चयन गरेर स्थापना दिवसकै अवसरमा ‘वर्ष गीत पुरस्कार –२०७८’, ‘वर्ष गीत पुस्तक पुरस्कार –२०७८’ समेत प्रदान गर्नेछ । संघले छनौट गरेको उत्कृष्ट १० गीतहरुमा ‘नवी अधिकारी‘टाकिन्द्र’ को ‘खोजी रहेछ देशले’, भूपेन्द्र महतको ‘कस्ले सक्छ छल्न’ लगायतका छन् । उत्कृष्ट गीति पुस्तकहरु छनौटमा भने विरेन्द्र राईको ‘रैछाकुले म’, टिका भट्टाराई नेपालको ‘मनका रंगहरु’ र विजय कट्टेल ‘छहरा’को ‘देशकै माया लाग्छ’ छन् ।

संघले संस्थामा आवद्ध सदस्यहरुले वि.सं २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रुपमा दर्ता भएका गीति पुस्तकहरु र गीतहरुलाई विशेष समितिले चयन गरेर स्थापना दिवसकै अवसरमा ‘वर्ष गीत पुरस्कार –२०७८’, ‘वर्ष गीत पुस्तक पुरस्कार–२०७८’ समेत प्रदान गर्नेछ । सर्वोत्कृष्ट गीत र पुस्तक कार्यक्रम स्थलमा नै घोषणा गरी प्रत्येकलाई ५७ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने विज्ञप्तिमा भनिएको छ । स्रष्टाहरुको सिर्जनामा ऊर्जा र उत्साह थप्नका लागि संघले हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको संघका उपाध्यक्ष बसन्त वित्यासी थापाले बताए ।