इलाम — नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ मुलुकका राजदूतहरु इलामको प्रसिद्ध पर्यटकीय स्थल अन्तुमा भेला हुने भएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा सूर्याेदय नगरपालिकाको समन्वयमा उनीहरुले अन्तु क्षेत्र भ्रमण गर्ने भएका हुन् ।
मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यस पटक अन्तुमा कार्यक्रम तय भएको सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।
कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव, कर्मचारी, पर्यटन बोर्डका कर्मचारी लगायतको पनि सहभागिता हुने भएको छ ।
उक्त टोली चैत ३१ गते कन्याम आइपुग्ने कार्यक्रम छ । कन्याममा नगरपालिकाले स्वागत गरी ‘चिया टेष्टिङ सेन्टर’ मा विभिन्न चियाको स्वाद चखाउने कार्यक्रम तय गरेको छ ।
उक्त अवसरमा दूधको परिकार चिजको समेत स्वाद चखाइने नगरप्रमुख राईले बताए । उनका अनुसार कन्यामा सबै देशका राजदूत सहितको टोलीलाई विभिन्न जातजातिको पोसाकमा सजाएर घोडचढी गर्ने, चिया बगान घुमाउने कार्यक्रम छ ।
३१ गते अन्तुमा रात्रिकालीन स्वागत गरी वैशाख १ गते नयाँ वर्षको अवसरमा सबै राजदूतलाई सूर्याेदयको दृश्यावलोकन गराइने जनाइएको छ । यसैगरी, चिया बगान भ्रमण, अन्तु पोखरीमा डुङ्गा सयर आदि कार्यक्रम नगरले तय गरेको छ ।