सिरोहियालाई नागरिकता दिने सिडिओसहित दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन दुईजना कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएकाे छ । सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हाे ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिजाे ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् । उनलाई थुनामा राखेर अनुसन्धान गरिरहनु नपर्ने भन्दै धनुषा सरकारी वकिलको कार्यालयले सिरोहियालाई उनका छोरा सम्भव सिरोहियाको जमानतमा छाडेको हो।