मुस्ताङको मूलखर्कमा हिम पहिरो, कालीगण्डकीको सहायक नदी थुनियो

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा हिम पहिरो गएको छ । धौलागिरि हिमशृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको हो ।
हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ मा पर्ने बोक्सीखोला पूर्ण रुपमा थुनिएको छ । हिउँपहिरो बोक्सीखोलाको धेरै तलसम्म आएकोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकोले त्यस क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।
बोक्सीखोला कालीगण्डकीको सहायक नदी भएको र नदी वरपर बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा परेका कारण सर्वसाधारणलाई सचेत तुल्याइएको हो ।
शुक्रबार भदौ ७ गते पनि यही स्थानमा हिउँ पहिरो गएको थियो । यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।