अनेसासले काव्यवाचन गरेर मनायो २०९ औँ भानु जयन्ती

काठमाडौं, आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसरमा उनको योगदानको परिचर्चा तथा काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्यापटरले काठमाडौंमा बुधबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुखअतिथि साहित्यकार डा. रामप्रसाद दाहालले नेपाली साहित्यमा भानुभक्तको योगदान अतुलनीय रहेको भन्दै उनी प्रति श्रद्धासुमन व्यक्त गरे । भानुले सरलरुपमा लेखेका कविता र रचनाहरुकै कारण भाषिक एकीकरण सम्भव भएको उनले दाबी गरे ।

‘हामीले नपत्याइएका, पत्याइएका शब्दहरु जोडेर पनि कविता बनायौँ । जसरी पनि कविता हुन्छ भन्ने भावमा कविता बनायौँ । धेरै साहित्य लेख्यौँ ।’ उनले भने, ‘तर भानुभक्तले जतिखेर कलम चलाउनु भयो । कविता लेख्नु भयो । त्यतिबेला लेखेका शब्द क,ख राम्रोसँग नजानेका मानिस पनि प्रभावित भए ।’ यस्तै, कार्यक्रमका विशेष अतिथि एवं भानु प्रतिष्ठानका महासचिव डि.पी अर्यालले भानुभक्तकै कारण नेपाली जातीको एकता सम्भव भएको बताए । भानुले दिएको योगदानले नेपाली–नेपालीका बीचमा भावना साटासाट गर्न, चरित्र विकास र सद्भाव राख्न र अनन्तकालका नपढेका मानिसहरुका लागि पनि लयको माध्यमबाट कविता पढ्न सजिलो भएको बताए ।

भानुभक्तले छन्दमा लेखेका कारण लय समाउन सजिलो हुने हुँदा उनको कविता हरेक मानिसलाई कण्ठ भएको अर्यालले स्मरण गरे । भाषाले मानिसहरुलाई नजिक बनाउने उनको भनाइ छ । तर पछिल्लो समय भाषा माथि नै आक्रमण हुनथालेको भन्दै उनले यस तर्फ सबैको ध्यानाकर्षण गराए ।
कार्यक्रमकी सभापति एंव अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले नेपाली भाषा, संस्कृति र साहित्यमा भानुले गरेको योगदानको चर्चा गर्दै भानुजयन्तीलाई अनेसासले एउटा पर्वका रुपमा मनाउँदै आएको बताइन् । उनले नेपाली पुगेका हरेक ठाउँ र देशमा नेपाली भाषा, संस्कृति पुगेको भन्दै खुसी व्यक्त गरिन् । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका महासचिव ऋषवदेव घिमिरेले स्वगतमन्तव्य राख्दै भानुभक्त आचार्य लोकको कवि भएको बताए । उनले भानुभक्त लोकका कवि भएको बताए कारण भानुभक्त चर्चा परिचर्चा गर्नुपर्ने बताए । भानुभक्तले लोकहितकै लागि रामायाण लेखेको र लोकका हितका लागि भाषिक, साहित्यक, सांस्कृतिकरुपले लोकशब्द प्रयोग गरेर भानुले आफ्ना सिर्जना गरेको घिमिरेले बताए ।

कार्यक्रममा रोशन थापा ‘निरव’, लोकमान मास्के, किशोर श्रेष्ठ, मनोज न्यौपाने, सुमन वर्षा, डा. शान्तिमाया गिरी, गीता मैनाली, द्धवारीका कुइकेल, सृजना शर्मा, मुना बोहोरा, निसा के.सी लगायतले कविता वाचन गरेका थिए । कार्यक्रम सञ्चालन कवि रन्जना निरौँलाले गरेकी थिइन् ।