राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

 

काठमाडौं, २९ माघ

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अनवरत रुपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायव निरीक्षक प्रदिप थापालाई कदरपत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७९’ को लोकार्पण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रण तथा अनुसन्धान  र शान्ति सुरक्षा कायम राख्ने दायित्व निर्वाह गर्न मुलुक र नागरिकप्रति जवाफदेही, समर्पित र व्यवसायिक बन्ने उन्नत मावन संशाधनको उत्पादन र विकासमा प्रतिष्ठानको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो । वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त प्रशिक्षणको दिशामा प्रतिष्ठानलाई समयसापेक्ष ढंगले परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता अनुरुप आवश्यक सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश भएको ‘पिजिडिपिएस’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उहाँले अब छिट्टै ‘मास्टर ईन पुलिस साइन्स’ कार्यक्रम संचालन गर्ने सम्बन्धमा छलफल गरी सार्थक निष्कर्ष आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले संचालन गर्न प्रतिष्ठान परिवारको अथक मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै समय अनुकूल प्रशिक्षार्थीहरुको बहुआयामिक विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न उहाँले निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले सीमित स्रोत साधनका बावजुद प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधारको विकास, प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षण विकास योजना, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै वार्षिकोत्सव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, लाइभ म्युजिक विथ डान्स तथा सांगीतिक धुन समेत प्रस्तुत भएको थियो ।

समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी वल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Comments are closed.