काठमाडौँ —भैरव पुरस्कार गुठीद्वारा तीन जनालाई भैरव पुरस्कार घोषणा गरेको छ ।
प्रसिद्ध साहित्यकार एवं व्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको हो ।भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार ग्रहणकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।
१ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ ।
यस्तै, ५१ हजार १ सय ११ रुपैयाँको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति बनाएको थियो ।
आगामी पुस ९ गते शनिबार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।