कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि १० उत्कृष्ट कृतिको सूची सार्वजनिक

कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।

उत्कृष्ट १० मा विष्णु सापकोटाको `अडिएका पाइला´ उपन्यास, कृष्ण गौतमको `अद्वैत´ उपन्यास, रमेश सायनको `अन्तर´ उपन्यास, सानु शर्माको `अर्को देशमा´ कथासङ्ग्रह, विश्व कुइँकेलको `गोपिचा´ उपन्यास, जीवन जीवन्तको `चरैवेति´ उपन्यास, भक्त स्याङ्तानको `डम्फुको आत्मालाप´ कथासङ्ग्रह, खेम बतासको `बुढीपोल्ली´ कथासङ्ग्रह, गोविन्दप्रसाद कुसुमको `भृकुटी´ उपन्यास र रोशन थापा निरबको `सन्त्रासका साठी दिन´ उपन्यास रहेका छन् ।

समाजले आइतबार सार्वजनिक गरेको बिज्ञप्तिमा भनिएको छ – `कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्ये एउटा कृतिलाई प्रदान गर्दै आएको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि निर्णायक मण्डलको सिफारिसका आधारमा १० वटा उत्कृष्ट आख्यान कृतिको सूची वर्णानुक्रमका आधारमा प्रकाशित गरिएको छ । यी कृतिहरूमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको सूची प्रकाशित गरिनेछ । ती मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिनेछ ।´

पुरस्कृत आख्यानलाई आगामी कात्तिकमा चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताए । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ । २०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास, २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यास र २०७९ सालमा देवीप्रसाद सुवेदीको `मनु´ उपन्यासले प्राप्त गरेका थिए ।