विद्यापति मैथिली भाषा साहित्य पुरस्कार घोषणा

धनुषा, । विद्यापति पुरस्कार कोषका सदस्य सचिव रुद्रकुमार झाले आइतबार विज्ञप्तिमार्फत विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबारे जानकारी गराउनु भयो ।

यस अन्तर्गत कोषले २०७९ मा प्रदान गरिने मैथिली भाषाको विभिन्न चार विधाको पुरस्कार घोषणा गरेको छ । मैथिली भाषा साहित्यको क्षेत्रमा नोबेल पुरस्कार मानिएको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७९ वाट धनुषाको विदेह नगरपालिका वडा- २ दुहबी निवासी वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई पुरस्कृत गर्ने घोषणा कोषले गरेको छ । सो पुरस्कारको राशि २ लाख रहेको कोषका सदस्यसचिव झाले जानकारी दिनुभयो ।

त्यसैगरी कोषले नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०७९ मैथिली भाषाका गायक आभास लाभ र अभिनयकर्मी वैद्यनाथ रायकुर्मीलाई प्रदानगर्ने घोषणा गरेको छ । सो पुरस्कारको राशि १ लाख रुपियाँ भए पनि यस पटक एउटै पुरस्कार दुई जनालाई प्रदान गरिएको कोषका सदस्यसचिव झाले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०७९ वरिष्ठ साहित्यकार महेन्द्रकुमार मिश्र र नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०७९ रमेशकुमार यादवलाई प्रदानगर्ने निर्णय कोषले गरेको छ । दुवै पुरस्कारको राशि एक एकलाख रुपियाँ रहेको छ । मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ मा नेपाल सरकारले मैथिली भाषा साहित्यको उत्थानका लागि गठन गरेको सो कोषले प्रत्येक वर्ष मैथिली भाषा साहित्यको क्षेत्रमा काम गर्ने स्रष्टालाई पुरस्कार प्रदान गर्दैआएको छ ।

Comments are closed.