कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा पुरस्कार सम्मानको घोषणा

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७८ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई , कृष्ण भूषण बल सिर्जना सम्मान कवि सुधा एम राई र कृष्णभूषण बल सिर्जना युवा सम्मान कवि रोशन परियारलाई प्रदान गर्ने भएको छ । तीसको दशकदेखि नेपाली साहित्यको कविता र गीत विधामा दिएको योगदानका लागि अधिकारीलाई र कविता विधामा नै दिएको योगदानका लागि राई र परियारलाई उक्त पुरस्कार सम्मान दिइने निर्णय गरिएको हो । पुरस्कार राशि क्रमश रु पचीस हजार, पन्द्रह हजार र एघार हजार रहेको छ । बल सिर्जना पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली ,बम देवान, नारायण तिवारी ,गणेश रसिक , भागिरथी श्रेष्ठ र विष्णुविभु घिमिरे पुरस्कृत भइसक्नु भएको छ ।
यसै गरी कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान ,र युवा पुरस्कारबाट यस अघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल , ड गीता त्रिपाठी पुरस्कृत भैसकेका छ्न् ।
प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने छ।

Comments are closed.